लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।
सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुनस्साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८ ९सभामुख वाहेक०,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् ।
विपक्षी एमालेका ३७ सांसद रहेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
७ भदौ २०७८, सोमवार १५:३६ बजे प्रकाशित












