टीकापुर घटनाको ६ वर्ष: सार्वजनिक भएन लाल आयोगको प्रतिवेदन
कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ । २०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।
यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।
आन्दोलनरत थरुहटरथारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तरगत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण भएको थियो ।
आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगरमा जेल जीवन बिताइरहेका छन् ।
घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिवेदन पेश नगरेको भन्दै थरहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउदै आएका छन् ।
वर्तमान संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख छ । तर, आजसम्म पपनि सार्वजनिक गरिएको छैन ।
७ भदौ २०७८, सोमवार ०८:२८ बजे प्रकाशित













