तलब वृद्धिको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी
तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।
संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन्।
बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने सिगास मावि गौरीशँकर पोखरी गुरुडाका बालशिक्षक बिस्ना केसीले बताइन्।
संघीय सरकारले स्थानीय श्रोतबाट तलब थपेर खुवाउनुपर्ने परिपत्र गरेकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउन अप्ठ्यारो परेको नगरपालिकाले जनाएको छ। बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको मागप्रति आफूहरु सकारात्मक रहे पनि बजेट अभावका कारण समस्या भएको नगर उपप्रमुख सरस्वती कोलीले बताइन्।
अहिले नगर प्रमुख जिल्ला बाहिर रहेकाले नगरप्रमुख आउने बित्तिकै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबका विषयमा छलफल गरिने नगरपालिकाले जनाएको छ। तर बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफूहरुका माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने बताएका छन्।
कतिपय स्थानीयतहरुले तलब वृद्धि गरेका भए पनि पाटन नगरपालिका आफूहरुका मागप्रति गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ।
३२ साउन २०७८, सोमवार ०८:५८ बजे प्रकाशित






























