देशका विभिन्न ११ ओटा सडक अझै अवरुद्ध
बाढी पहिरोका कारण देशका विभिन्न ठाउँका ११ सडकखण्ड अझै ठप्प छन् । बाढी पहिरोले एक सय ६० सडकमा क्षति पुर्याएकोमा ५३ वटा सडकखण्ड दुईतर्फी खुलेका छन् भने ९६ सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । तर, ११ वटा सडकखण्डमा भने धेरै ठाउँमा क्षति भएको र भौगोलिक विकट क्षेत्रका कारण पनि खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।
सबैभन्दा धेरै लमजुङको डुम्र्रे बेंसीशहर–चामे सडकमा समस्या देखिएको छ । यो सडकखण्ड लामो समयदेखि बन्द छ । त्यहाँको तिमाङ छहरा, धारापानी, बगरछाप, रामबजार, अर्खले र तिमाङखोला गरी ६ ठाउँमा ठूलो क्षति पुगेको हुँदा सडक खुलाउन कठिन भएको विभागले जनाएको छ ।
यसैगरी अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल क्षेत्रमा सडक पनि ठप्प छ । यस्तै, ठोरी–रसुवागडी सडकखण्डको त्रिशूली, सानो भार्खु, गाँजाबारी मैथली खण्डमा धेरै नोक्सानी पुगेको छ ।
यस्तै सुर्खेत–गमगडी सडकको कालिकोटको हुल्ममा पुर्याएको क्षतिका कारण सडक ठप्प छ । सडक विभागले सडक खुलाउन र यातायातलाई सहज बनाउन मर्मत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेर काम गरिरहेको बताए पनि भागोलिक विकटताका कारण समस्या भएको छ ।
२२ साउन २०७८, शुक्रवार १६:०६ बजे प्रकाशित












