तुइन तार्ने कल्याणसिंहको बयान : ‘एसएसबीले नदेखेझैँ गर्यो, जयसिंहले खुट्टा टेक्नै पाएनन्’

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मा पर्ने मालघाटमा तुइन तर्ने क्रममा सोही ठाउँका ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भए । गएको शुक्रबार उनी भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउन महाकाली पार गर्न तुइन तर्दै थिए । उनी नेपालबाट पारि भारत जाँदै सदरमुकाम खलङ्गा जाने तयारीमा थिए । तर उनी भारतको जमिनमा पाइला टेक्न नपाउँदै नदीमा खसे । उनी तुइनमा तर्दै गर्दा पारितिर भारतीय सुरक्षाबल (एसएसबी)ले तुइन खोलिदिँदा नदीमा खसेको भन्ने स्थानीयको दाबी छ भने स्थानीय प्रशासनले यसको आधिकारिक पुष्टि नभएको बताउँदै आएको छ ।

प्रहरी र स्थानीय प्रशासनले एसएसबीले तुइन खोलेको पुष्टि नभएको बताइरहँदा चौतर्फी विरोध पनि भइरहेको छ । अधिकांशले एसएसबीलेनै तुइन खोलिदिँदा जयसिंह नदीमा खसेको र भारतीय एसएसबीलाई कारबाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका छन् । एसएसबीलाई कारबाही गर्नुपर्ने मागसहित विरोध प्रदर्शनका कार्यक्रम पनि भइरहेका छन् ।

घटनाका बारेमा स्थानीय, प्रहरी र स्थानीय प्रशासनबाट दुईथरी कुराहरु आइरहँदा यसको वास्तविकता बुझ्न जरुरी देखियो । यस विषयमा हामीले प्रत्यक्षदर्शी स्वयम जयसिंहलाई तुइन तराउन लागेका कल्याणसिंह धामीसंग बुझ्ने प्रयास गरेका छौं । २१ वर्षदेखि सोही ठाउँमा तुइन तराउने काममा लागेका उनी शुक्रबार जयसिंहलाई तार्दै थिए । अहिलेसम्म सबैलाई नदी पार गराउन सफल भएका कल्याणसिंहले त्यसदिन भने जयसिंघलाई नदीपारि पुर्याउन पाएनन्, वा सकेनन् । उनको बाधक बन्यो एसएसबी ।

एसएसबीले नदेखेझैँ गर्यो
म २०५८ सालदेखि महाकालीमा तुइनमा मानिसहरुलाई ओसार–पसार गर्दै आएको छ । मेरो घरभन्दा १५÷२० मिनेटको दुरीमा पर्छ, मालघाट । सदाझैँ शुक्रबार पनि तुइन चलाउन जाँदै थिएँ । तर म भन्दा अगाडि मानिसहरु तुइनमा पारि जान आइसकेका थिए । त्यसमा जयसिंह धामी पनि थिए । उनीसहित चार÷पाँच जना खलङ्गा जाने तयारीमा थिए । मैले जयसिंह भन्दा अगाडि चार जनालाई नदी पारि भारततर्फ तराइसकेको थिएँ । उनीहरु पारि तरिसकेपछि त्यहाँ रोकिएनन् अली अगाडि गइसकेका थिए ।

वारितिर पनि जयसिंहसहित तीन जना बाँकीनै थिए । मैले पाँचौं नम्बरमा जयसिंहलार्ई पारि तार्दै थिएँ । उनी नदीको बिचमा पुग्दापुग्दै माथिबाट एसएसबीका दुई जना देखा परे । एक अगाडि थियो भने एक अली केही पछाडि थियो । तुइनको डोरी भारततिर रुखमा बाँधिएको थियो । अगाडि आएको एसएसबीले रुखमा बाँधेको डोरी निकाल्न थालिहाल्यो । उसले डोरी निकाल्दै गर्दा जयसिंह पारी पुग्नै लागेका थिए । उनी पारी पुग्न एक मिटर पनि बाँकी थिएन होला । त्यतिकैमा एसएसबीले तुइनको डोरी निकाली हाल्यो । एसएसबीले डोरी काट्नु भन्दा पनि रुखमा कसेको डोरी फुकालेको हो । डोरी फुकालिसकेपछि यता जयसिंह नदीमा पछारिहाले ।

एसएसबीले डोरी निकाल्न खोज्दै गर्दा तुइनमा मान्छे छ एकैछिन रोकौं भनेर हामीले वारिबाट डाको पनि हाल्यौं । नदीले गर्दा आवाज नसुनिएला भनेर तुइनमा मान्छे छ भनेर हातले पनि इसारा गरेकै हो । उसले आवाज सुन्यो वा सुनेन थाहा भएन । नदीको सुसाहट बढी भएको हुँदा आवाज नसुको पनि हुनसक्ला । तर हातको इसाराले पनि तुइनमा मान्छे छ भनेको हौं । तर एसएसबीले नदेखे, नसुनेझैँ गर्यो । डोरी फुकालेरै छोड्यो ।

डोरी फुकालेपछि डोरीसंगै नदीमा पछारिएका जयसिंह केही सेकेण्डमै नदीमै बिलाए । उनी नदीमा खसेपछि एक÷दुई पटक नदीमो उनको टाउको देखिएको हो । हामी वारिपट्टि भयौं । केही गर्न सकिने स्थिति थिएन । पारि भएको एसएसबी तुइनको डोरी निकालेर पछाडि फर्केर नहेरी भाग्यो । भिरालो ठाउँमा महाकालीको भेलमा जयसिंह केहीछिनै विलिन भए । उनी नदीमा बेपत्ता भएपछि हामी पनि बेहोसी जस्तै भयौं । के गर्ने, कस्तो गर्र्ने भन्ने कुनै भेउ पाउन सकेनौं ।

वारितिर मसहित तीन जना थियौं । तुइन तरेर पारि जानका लागि लाइनमा बसेका विक्रम रङकोली र अनिता धामी थिए । उनीहरु पनि यो घटनाका प्रत्यक्षदर्शी हुन् । उनीहरुलाई सोध्दा पनि घटनाका बारेमा यथार्त बुझ्न सकिन्छ । हामीले आफ्नै आँखाले देखेका हौं कि एसएसबीले डोरी निकालेकै कारण जयसिंह नदीमा पछारिएर बेपत्ता भएका हुन् ।

जयसिंह नदीमा बेपत्ता भएपछि हामी बेहोसमै रन्थनियौं । पछि अरु मानिसहरु आएपछि केही तलसम्म खोज्यौं । तर ठूलो महाकालीमा उनी कहाँ विलाए भेउनै पाउन सकिएन । पछि प्रहरीलाई खबर भएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका छन् । उनको अवस्था तीन दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन ।

एसएसबीले डोरी काटेको पुष्टि भएको छैन भन्ने प्रहरी र स्थानीय प्रशासनले पनि हामीहरुलाई सोधिरहेको छ । हामीले जे भयो र जे दख्यौं त्यही भन्दै आएका छौं । सोमबार हामी प्रत्यक्षदर्शीलाई घटनाबारे भन्नका लागि सदरमुकाम खलङ्गा बोलाएको छ । त्यहाँ पनि घटनाबारे सत्यतथ्य भन्नेछौं ।

पुल नहुँदा घटना भयो
मैले थाहा पाएसम्म दार्चुलामा महाकाली नदीमा सात÷आठवटा तुइन छ । यीमध्ये अहिले नदी बढेपछि सबै सञ्चालनमा छैनन् । नदीमा पुल नभएकै कारण मानिसहरु त्यही तुइनबाटै वारिपारी गर्छन् । आफ्नै भूमि नेपाल जान पनि भारतीय भूमि भएर जानुपर्ने स्थिति छ । मालघाटमा पनि झोलुंगे पुल बनाउने योजना छ । तर तीन वर्षदेखि जग हालेर त्यसै छोडिएको छ । यदी यहाँ पुल भएको भए जयसिंहले नदीमा बगेर ज्यान गुमाउनुपर्ने थिएन ।

तुइन तराउँदै गर्दा जयसिंह नदीमा बेपत्ता भइसकेपछि अहिले म पनि तुइन तराउन नदीमा गएको छैन । एसएसबीले तुइन तार्न पनि दिँदैन । त्यहाँ पनि हामीले लुकेरनै तुइन लगाइरहेका थियौं । अर्कोतर्फ पुल नभएको महाकालीमा तुइन नभई नहुने अवस्था पनि छ । नेपालतर्फ भएको घोडेटोबाटो पनि महाकाली नदीले बगाएको छ । भारतको बाटो हुँदै नेपाल जानुपर्ने बाध्यता नै छ ।

सरकारले जिम्मा लिनुपर्छ
यही घटनाको विषयमा व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले यसमा भारतीय एसएसबीको सोझै लापरबाही भएको बताएका छन् । वडाध्यक्ष बुढाथोकीसंग गरिएको कुराकानी उनकै शब्दमा :
तुइनमा रहेको मानिस झरेको छ वा छैन भनेर कुनै प्रवाह नगरेर डोरी निकाल्नु एसएसबीको ठूलो लापरबाही हो, अपराध हो । यो कुरालाई प्रहरी र स्थानीय प्रशासनले पनि मान्नुपर्छ । भारतीय एसएसबीले डोरी निकालेको हो भनेर पुष्टि भएको छैन भनेर हुँदैन । जे भएको हो घटनास्थलमा भएका प्रत्यक्षदर्शीले भनिसकेका छन् । प्रत्यक्षदर्शीले भनेको त मान्नुपर्यो नि ।

घटनापछि आएका नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रत्यक्षदर्शीसंग सोधपुछ पनि गरिसकेको छ । उनीहरुले भनेको आधारमा पनि स्थानीय प्रशासनले एसएसबीकै कारण जयसिंहले ज्यान गुमाउनुपरेको हो भन्ने बुझ्नुपर्छ ।

जयसिंह भन्दा अगाडि पारि तरेकाहरुले उनी एसएसबीकै कारण नदीमा खसेर बेपत्ता भएका हुन भनेरै भारतको पाङ्लास्थित पुलिस थानामा जाहेरी थिएका छन् । उनीहरुले एसएसबीलाई कारबाही गरिनुपर्ने भन्दै त्यहाँ उजुरी दिएका हुन् । उनीहरुलाई पनि एसएसबीले गर्दानै घटना घटेको हो भन्ने लागेरनै सोही समयमा तुरुन्तै पुलिस थानामा जाहेरी दिएको होलान् नि । सरकारले यो घटनामा गम्भीर हुनुपर्छ । घटनाबारे गहन अध्ययन अनुसन्धान हुनुपर्छ ।

अब सरकारले घटनाको जिम्मेवारी लिनुपर्छ । घटनामा संलग्न एसएसबीलाई कारबाही गराउन सरकारले कुटनीतिक पहल गर्नुपर्छ । भारतीय एसएसबीबाट हरेक समयमा हुने ज्यादती रोक्नेतर्फ पहल गर्नुपर्छ । साथै जयसिंहको परिवारको पालपोषणको जिम्मा पनि सरकारले लिनुपर्छ । दाइभाइ अलग भइसकेको अवस्थामा जयसिंहका पत्नी र दुई छोराछोरीको पालनपोषण र शिक्षा दिक्षाको व्यवस्था राज्य गर्नुपर्छ । पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था पनि गरिनुपर्छ ।


१७ साउन २०७८, आइतवार २१:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु