हरेक बर्खामा बन्द हुन्छ साँफे–मार्तडी सडक- ‘प्रदेश र संघ सरकारले चासो दिएन’

बाजुरा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक यस वर्ष पनि अवरुद्ध बनेको छ । उक्त सडक हरेक बर्खामा पहिरोका कारण बन्द हुँदै आएको छ । मुख्य सडक चार वर्षदेखि हरेक बर्खामा बन्द हुँदै आएको हो ।

यसपटक पनि वर्षासंगै असार १ गतेदेखिनै सडक अवरुद्ध छ। त्रिवेणी नगरपालिका–९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो। पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्किएको छ।

बर्खाका बेला सडक भत्किएपछि जिल्ला सदरमुकाम र धेरै स्थानीय तहसँगको सम्बन्ध टुटेको छ। चार वर्षदेखि सडक सञ्चालनका लागि कुनै ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ । बर्खाका चार महिना सडक पूरै अवरुद्ध हुने गरेको बूढीगंगा नगरपालिकाका २ का वडाध्यक्ष हीरालाल थापाले बताए ।

अछामको साँफेबगरबाट मार्तडीसम्म २२ वर्ष लगाएर ट्र्याक खुलेको थियो। चार वर्षअघि मात्रै कालोपत्रे भएको सडक सोही बेलादेखि बर्खामा अवरुद्ध हुँदै आएको हो । ठूलो पहिरोका कारण सोही ठाउँ भएर सडक बनाउने अर्को कुनै आधार नभएको सडक डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्टले बताए । ‘माथिबाट पहिरो आएको छ। तलबाट नदीले सडक कटान गरिसकेको छ,’ उनले भने, ‘त्यस क्षेत्रको पहिरो पन्छाउन दुईवटा डोजर तैनाथ राखिएका छन्।’

मुख्य सडक अवरुद्ध भएपछि अहिले पहिरो गएको ठाउँसम्म मात्रै सवारी साधन जाने गरेका छन्। भाँसिएको तीन किलोमिटरमा यात्रु हिँडेर अर्कोतिरको गाडीसम्म जाने गरेका छन्। दैनिक उपभोग्य सामान बोकेर अर्कोतिरको गाडीसम्म पुर्‍याउने गरिएको छ।

स्थानीय तहको बजेटले नभ्याइने उक्त सडक निर्माणमा प्रदेश र संघ सरकारले चासो नलिएको बाजुराबासीको आरोप छ ।


६ साउन २०७८, बुधवार १४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु