खरिद प्रक्रियालगायतका कारण समयमा काम गर्न सकेनौं : मन्त्री सुबेदी
हामी कोरोना महामारीसंग जुधिरहेका छौं । नेपालमा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण अझ बढी छ । संक्रमित दैनिक बढिरहेका छन् भने सोहीअनुसार मृत्युदर बढ्दोक्रममा छ । अस्पतालमा बेड र अक्सिजन नपाएर मानिसहरु मृत्युवरण गर्न बाध्य छ । यो अवस्थामा केन्द्रदेखि प्रदेश सरकारले आफ्नो दायित्व बोध गर्न नसकेको आरोप लागिरहेको छ । सुदूरपश्चिम प्रदेशका जनता अहिले प्रदेश सरकारको भूमिका खै भन्दै सरकारको खाजी गरिरहेका छन् । यही आरोपकाबीच हामीले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीसंग कुराकारी गरेका छौं । प्रस्तुत छ, मन्त्री सुबेदीसंग गरिएको कुराकानीको सम्पादित अंश :
कान्तिपुरमा प्रकाशित एक रिपोर्ट अनुसार नेपालमा संक्रमण फैलने दरको दोस्रो स्थानमा छ । पहिलो भियतनाममा २.४ प्रतिशत रहेको छ भने नेपालमा १.६ प्रतिशत छ । सोही रिपोर्टका अनुसार पोजिटिभिटी दर ४५ प्रतिशत देखिन्छ । यो हेर्दा आउँदो तीन हप्ता चुनौतीपूर्ण हुने भनिएको छ । यो अवस्थामा पुग्नुमा संघीय सरकार , प्रदेश सरकार र स्थानिय सरकारको कुनै तयारी नहुनु हो भनिन्छ । के भन्नु हुन्छ ?
महत्वपूर्ण प्रश्नका लागि धन्यवाद । हामी प्रदेश सरकार यस कोभिड रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका लागि पहिलेदेखि नै प्रयासरत थियौं । केही व्यवस्थापकीय पक्ष, सार्वजनकि खरिद ऐन विधी, कानुनी अड्चन खरिद प्रक्रिया अनि खरिद गरेका समान पनि ढिलो पुग्ने भएकाले हामीलाई केही असहजता भयो । सुदूरपश्चिमका थुप्रै जनता भारतमा रोजगारीका लागि जाने र नयाँ वर्षमा घर फर्कने हुँदा भारतमा कोरोनाको दोस्रो लहर देखिएदेखि हामी सचेत भएका थियौं । केही हामीले तयारी गर्यो तर त्यसलाई प्रयाप्त भन्न मिल्दैन । हाम्रो तयारी पोहोर सालको अनुभवमा आधारित थियो तर कोरोनाको नयाँ रुपलाई हेर्दा तयारी त्यस अनुरुपस केन । एउटा अक्सिजन प्लान्ट स्थापना गर्न सकेको भए अझ सजिलो हुन्थ्यो ।
हाल सुदूरश्चिम प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट छ महाकाली अस्पताल र एउटा निजी अस्पतालमा पनि एउटा प्लान्ट छ । सुदूरको नौंवटै जिल्लालाई अक्सिजन प्लान्ट बनाउन ८०—८० लाख दिइसकेका छौं । अक्सिजनको कमीले हाम्रो दाजु भाई दिदीबैनीहरुले ज्यान गुमाउनुभयो यसका लागि हामीलाई अपसोच छ । हामी दुखी छौं । अस्पतालहरुले पनि अक्सिजन प्लान्टका लागि टेन्डर आब्हान गरिसकेको र सेती प्रादेशिक अस्पतालमा पनि ठुलो अक्सिजन प्लान्ट राख्न टेन्डर आब्हान भएको छ ।
“भैरहवा, नेपालगंज विभिन्न ठाँउबाट अक्जिन ल्याएका छौं । शुभम गेस्ट हाउस र धनगढी रंगशालामा ५० बेडको आइसोलेसन तयारी अवस्थामा राखेका छौं । अक्सिजन नभएका कारणले सुरु नभइसकेको अवस्था हो ।”
अर्थ मन्त्रालयको एक पत्र अनुसार ६ महिना अगाडि अक्सिजन प्लान्टका लागि बजेट निकासा गरेको देखिन्छ । अक्सिजन प्लान्ट त तपाइहरुकै कारण बनाउन नसकिएको देखिन्छ । के कुरामा अल्मलिनु भयो तपाईहरु यत्रो समय ?
अर्थ मन्त्रालयबाट मंसिरमा पत्र प्राप्त भएको हो । मंसिरको महिनामा कोरोना अस्पताल निर्माणका लागि संघीय सरकारसंग रुख काट्ने अनुमती माग्यौं । चैतको अन्तिम सातामा मात्र रुख काट्ने अनुमती आयो । अहिले ५० बेडको अस्पताल बन्दैछ । यसका बावजुद एन्टिजेन, अस्पताल बनाउने, बेड खरिद गर्ने आदि इत्यादी कार्य अगाडि बढाइसकेका थियौं । हाम्रो आपूर्ति व्यवस्था कार्यालयले आव्हान गरेको टेन्डरमा कसैले सहभागिता नजनाएको कारण ढिलाई भएको हो । पैसा नभएर हामीले काम गर्न नसकेका होइनौ । हाम्रो खरिद प्रक्रियाका कारण पनि हामीले समयमा काम गर्न सकेका छैनौं । अक्सिजन सिलिन्डर भयो कन्सन्ट्रेटर आवश्यक उपकरण खरिदा लागि सेती प्रादेशिक अस्पताल, महाकाली र अन्य अस्पताललाई रकम पठाइसकेका छौं । उहाँहरुलाई पनि सामान खरिदमा समस्या आइरहेको छ । सुदूर पश्चिममा दैनिक एक हजार सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ । अहिले हामीलाई चार सय सिलिन्डर मात्र पूर्ति भइरहेको छ । हामीले विभिन्न संघसंस्था र संघीय सरकारसंग पनि अनुरोध गरेका छौं ।
सरकारले फास्ट ट्रयाक बिधिबाट सामान ल्याएर काम गर्नुपर्ने समयमा प्रदेश सरकार संक्रमित र लास गनेर बस्न सुहाउछ त ?
हामी संक्रमित र लास गनेर बसिरहेका छैैैनौ । मैले फास्ट ट्रयाकबाट ल्याउन हामी सबै तहबाट प्रयास गरिरहेका छौं । भैरहवा, नेपालगंज विभिन्न ठाँउ बाट अक्जिन ल्याएका छौं । शुभम गेस्ट हाउस र धनगढी रंगशालामा ५० बेडको आइसोलेसन तयारी अवस्थामा राखेका छौं । अक्सिजन नभएका कारणले सुरु नभइसकेको अवस्था हो ।
मन्त्रालयले आव्हान गरेको टेन्टरमा कसैले सहभागिता नजनाउने तर निजी क्षेत्रले गरेका प्रयासमा १५ देखि एक महिनामा अक्सिजन प्लान्ट स्थापना गर्न सकिने बताइरहेका छन् । सरकार असक्षम भएकै हो त ?
म त्यस्तालाई निजी संस्था व्यापारीलाई के भन्न चाहन छु भने यदि तपाई ठुलो अक्सिजन प्लान्ट स्थापना गर्न चाहनुहुन्छ भने प्रदेश सरकार सहकार्य गर्न तयार छ । हामी सम्पूर्ण खर्च व्यहोर्न तयार छौं । छिटो भन्दा छिटो अक्सिजन प्लान्ट स्थापना गर्न कोसिस गर्नुस हामी लगानी गर्छौ । म के पनि भन्न चाहन्छु भने जनशक्तिको कमी नहोस भन्नका लागि विभिन्न तहका स्वास्थ्यकर्मीको भर्नाका लागि आव्हान गर्यौ । हामी थप सेवा र सुविधा पनि थप्न तयार थियौं तर हाम्रो विडम्बना सुदूरपश्चिममा आउन कोही तयार हुनुभएन ।
अहिलेको अवस्था हेर्दा प्रदेशमा अक्सिजन भेन्टिलेटर आइसीयूलगायतका सेवा नहुँदा महङ्गोमा हेलिकप्टर रिर्जभ गरेर राजधानी जान्छन् । धनी त्यसरी पनि बाँचन सक्छन् गबिले त अक्सिजन नै नपाएर मर्नुपर्ने अवस्था छ । यसमा के गर्छ मन्त्रालयले ?
केही दिन अगाडिसम्म त हेलिकप्टरको अभावमा उपचारका लागि काठमाण्डौं जान नपाएको दुखद् अवस्था पनि छ । गम्भीर बिरामी काठमाण्डौं जानुपर्ने अवस्था भएमा आर्थिक अभावले असमर्थ भएमा प्रदेश सरकारले सहयोग गर्छ ।
“पैसाको लालचमा कालो बजारी गरेर मानवतालाई मार्ने काम नगर्नुस् । त्यही पैसाले तपाईलाई पिरोल्ने छ । यो मानवता प्रर्दशन गर्ने समय हो ।”
महाव्याधीको यो समयमा जनताको हिम्मत बढाउने योजना हुनु पर्छ । एक प्रक्षेपणका अनुसार जुलाई पहिलो हप्तासम्म प्रति दिन १५ हजार संक्रमित हुन सक्छन् भनिएको छ । अबको तीन हप्तामा हामी यो गर्छौं, यसरी नियन्त्रण गर्छौं भनेर जनतालाई भन्न सक्नु हुन्छ ?
आजको १५ दिन भित्र मौजुदा कोभिड अस्पताल नजिकको १५ शैयाको को अस्पताल निर्माण भइसक्छ । एक महिना भित्र अक्सिजन प्लान्ट जडान गर्ने र दुई अक्सिजन कन्सन्ट्रेटर ल्याउने प्रयासमा छौं । २० हजार जति एन्टिजेन गर्ने प्रक्रियामा छौं । बेड खरिद गरेर जडान गर्दैछौं । प्रदेश सरकारले गर्नुपर्ने सबै काम गरिहेका छौं । भारतबाट आउनेलाई एन्टिजेन टेस्ट गरेका छौं र होल्डिङ सेन्टरमा राख्ने गरेका छौं । स्वस्थ रहेकालाई सुरक्षित घर जाने व्यवस्था गरेका छौं । स्वाव संकलन, जनचेतना चेतना जगाउन विभिन्न काम पनि गरिरहेका छौं । संचारकर्मीहरुसंग म के अनुरोध गर्न चाहन्छु भने जनताको हौसला उच्च राख्न मद्दत गर्नुस् । अहिले आलोचनामा समय खर्च गर्नु भन्दा समाजका सबै व्यक्ति र संघ सस्थाले आफ्नो कर्तव्य निभाउने बेला आएको छ । प्रदेश सरकार जनताको साथमा छ । सबै मिलेर कोरोनालाई परास्त गर्न सक्छौं । हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीले गर्नु भएको अभूतपूर्व सेवा, समर्पण र त्यागको उच्च मुल्याङकन गर्दछौं ।
अहिले आरटी पीसीआर टेस्ट गरेपछि रिजल्टको लागि एक हप्ता कुर्नुपर्ने अवस्था छ । यस्तो अवस्थाले संक्रमण झन बढ्न सक्छ । किन यस्तो अवस्था आएको ?
हामीले एन्टिजेन टेस्टबाट १५ मिनेटमा रिजल्ट दिने गरेका छौं । बाजुरा र दार्चुलाबाहेक सबै जिल्लामा पीसीआर टेस्ट भइरहेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा अलि बढी भिड हुने भएकोले अहिले हामीले सो अस्पतालसहित भेटनरी कार्यालयमा पनि व्यवस्था गरेका छौं । रिर्पोट चाँडो आवस भन्नका लागि जनशक्ति परिचालन गर्दैछौं ।
यहाँहरुको मातहतमा रहेको सेती प्रादेशिक अस्पताललाई सरकारले असहयोग गरेको भनिरहेको छ । अक्सिजनको प्रयाप्त उपलब्धता नभए हामी ठुलो विद्रोह गछौं भनेर व्यवस्थापन समितिका अध्यक्षले चेतावनी दिनुभएको छ । यस्तो किन लापरवाही तपाईहरुको ?
व्यवस्थापन समितिले कति काम गर्यो गरेन त्यो उहाँहरुलाई बुझ्नुस् । प्रदेश सरकारले समयमै बजेट पठाएको छ । समयमै सबै अस्पताललाई बजेट दिएका छौं । तपाईहरुको आवश्यकता के हुन् प्रदेश सरकारले के गर्न सक्छ भनेर हामीले भनेका छौं । अहिले प्रचारबाजी भन्दा कसरी अक्सिजन समयमा ल्याउन सकिन्छ त्यतातिर हामी लाग्नुपर्छ ।
लकडाउन भएको तीन हप्ता भइसक्यो कमजोर आर्थिक अवस्था भएका जनतालाई के आर्थिक प्याकेजको व्यवस्था गर्नु भएको छ ?
यसका लागि पनि हामीले सोच बनाएका छौं । माननीय मुख्यमन्त्री ज्युको आमाको देहवासन भएकोले उहाँ काजक्रिया सकेर फर्केपछि र उहाँलाई कोरोना संक्रमण देखिएका कारणले रेस्टमा हुनुहुन्छ । उहाँको अस्वस्थताका कारणले क्याविनेट बैठक हुन सकेको छैंन । लकडानको कारणले हातमुख जोर्न कठिनाई भोगिरहेका गरिब विपन्न र मजदुर वर्गलाई सहयोग गर्न हामी कटिवद्ध छौं ।
अहिले महङ्गी कालोबजारी बढेको छ । यसको अनुगमन कसले गर्छ ?
कालो बजारी र महङ्गी जो बढेको छ यो अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी उद्योग वाणिज्य र आपूर्ति कार्यालयले गरिरहेको छ । हिजो मात्र केही कालो बजारी गर्नेलाई कार्वाही गरेको मैले सुनेको छु । सबै लाग्नु भएको छ । सबैले आफ्नो क्षेत्रबाट काम गरेका छन् । म तपाई मार्फत के भन्न चाहन्छु भने पैसाको लालचमा कालो बजारी गरेर मानवतालाई मार्ने काम नगर्नुस् । त्यही पैसाले तपाईलाई पिरोल्ने छ । यो मानवता प्रर्दशन गर्ने समय हो ।
दैनिक उपभोग्य बस्तुको मूल्य सार्वजनिक गरिदिए कालोबजारी नियन्त्रण हुन सक्थ्यो के सोच्नु भएको छ यता तिर ?
त्यसका लागि पसलहरु खोल्ने समय निर्धारण गरिएको छ । मानिसहरुको कम भिड भाड होस भन्ने हाम्रो मान्यता हो । कसैले काला बजारी गरेमा कानुनी दायरामा ल्याउछौं ।
भ्याक्सिन नै वर्तमान अवस्थामा संक्रमण रोक्न महामारी नियन्त्रण गर्ने उपाय हो भनिन्छ । सुपका जनताले कहिलेसम्म भ्याक्सिन पाउँछन् ?
यस्तै गर्ने भन्ने अवस्था छैन । महामारीले कस्तो रुप लिन्छ त्यसमा निर्भर गर्दछ । कोरोनाको पहिलो लहरपछि कोरोना अब समाप्त भयो भन्ने सबैको धारणा बन्यो त्यो अब हुनु हुँदैन । अब कोभिडसंग पूर्ण रुपमा तयार हुनुपर्छ । हामीसंग पूर्वतयारी हुनुपर्छ ।
“प्रदेश सरकारले केही गरेन भन्नु सत्य होइन । हामीबाट कमजोरी भए होलान् । तर जनताको जीवन रक्षा हाम्रो परम कर्तव्य हो । हामी यसका लागि दिन रात लागिरहेका छौं । जनताको जीवन भन्दा ठुलो हाम्रो लागि केही हुन सक्दैन । हामी सबै मिलेर कोरोनालाई परास्त गर्ने छौं । यसमा सबैको सहयोगका लागि म सादर अनुरोध गर्दछु ।”
भारतका १० वटा राज्यले आफै भ्याक्सिन खरिद गरेर जनतालाई लगाउने भनेर निर्णय गरेका छन् । हाम्रो प्रदेश सरकारलाई के कुराले रोकेको छ ?
प्रदेशका जनतालाई भ्याक्सिन लगाउनु हाम्रो जिम्मेवारी हो । हामी लगाउछौं । आगामी बजेटमा भ्याक्सिन किन्न बजेट बिनियोजन गछौं ।
अहिले स्वास्थ्यकर्मीहरु विरामीकै उपचारमा खटिरहेका छन् । उनीहरुलाई मोटिभेट गर्ने, हौसला बढाउन के गर्नु भएको छ ?
स्वास्थ्यकर्मी यो महामारीको समयमा अग्रमोर्चामा हुनुहुन्छ । उहाँहरुलाई भत्ता, क्वारेन्टाइनको व्यवस्था १४ दिन आराम गर्न लगाएका छौं । पारिश्रमिक, सेवा सुविधा थप गर्ने कार्यमा लागेका छौं । हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीको उचित सम्मान गर्ने छौं ।
अन्तमा प्रदेशका जनतालाई केही भन्न चाहानु हुन्छ ?
सबै दाजुभाई दिदीबहिनीलाई लकडाउनको पालना गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । भौतिक दुरी कायम गर्न सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दछु । भिडभाड, जमघटले संक्रमणलाइ बढाउछ यस्तो कार्य कुनै पनि परिस्थितिमा नगर्न विशेष अपिल गर्दछु । आफ्नो छिमेकीलाई अफ्ठेरो परेमा आवह्यक सहयोग गरि दिनुस् । यो समय मानवता बचाउने समय हो । प्रदेश सरकार तपाईहरुको सरकार हो । प्रदेश सरकारले केही गरेन भन्नु सत्य होइन । हामीबाट कमजोरी भए होलान् । तर जनताको जीवन रक्षा हाम्रो परम कर्तव्य हो । हामी यसका लागि दिन रात लागिरहेका छौं । जनताको जीवन भन्दा ठुलो हाम्रो लागि केही हुन सक्दैन । हामी सबै मिलेर कोरोनालाई परास्त गर्ने छौं । यसमा सबैको सहयोगका लागि म सादर अनुरोध गर्दछु ।
यो संवेदनशिल र व्यस्त समयका बाबजुद हामीलाई समय उपलब्ध गराइदिनुभएकोमा तपाईलाई धन्यबाद ।
कोरोना महामारी रोकथामका लागि प्रदेश सरकारले गरिरहेका कामका विषयमा आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा तपाई र तपाईको मिडिया हाउसलाई धेरै–धेरै धन्यबाद ।
२ जेठ २०७८, आइतवार २०:२८ बजे प्रकाशित






























