कञ्चनपुरमा पनि ‘लकडाउन’ घोषणा
कञ्चनपुरमा पनि आगामी बिहीबारदेखि लागु हुने गरेर निषेधाज्ञा (लकडाउन) घोषणा गरिएको छ ।
कोरोना संक्रमण दर र मृत्युदर बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता लिकडाउन गर्ने निर्णय गरेको हो ।
बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म लकडाउन लागु गरिने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उनले उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन् ।
उनकाअनुसार अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।
खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने छ ।
यो अवधिमा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी मात्रै भेला हुन पाउने छन् ।
यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले दुवैै जिल्लामा रात्रिकालिन लकडाउन गर्ने निर्णय गरेका थिए । तर, त्यो मात्रै प्रयाप्त नभएको भन्दै पूर्ण लकडाउनको माग उठेपछि एक दिनमै सो निर्णय बदर गर्दै दुबै जिल्लामा पूर्ण लकडाउन घोषणा गरिएको हो ।
१४ वैशाख २०७८, मंगलवार १९:३३ बजे प्रकाशित













