नेकपा ब्युँताउने प्रचण्डको प्रयास विफल !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास विफल भएको छ ।

सर्वोच्च अदालतले एकता भंग गरिदिएको झण्डै एक महिनापछि फैसला पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्च अदालत गएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरेर २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।
सो नामको दल दर्ता रहेको अवस्थामा निर्वाचन आयोगले मिल्दोजुल्दो नाम सहित दल दर्ता गरिदिएको थियो ।

आफ्नो पार्टीसँग नाम जुधेको भन्दै नेकपा अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा निर्वाचन आयोग, तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

न्यायाधीश कुमार रेग्मी र वमकुमार श्रेष्ठको इजलासले फागुन २३ गते नेकपा एकता खारेज गरिदिएको थियो ।

सर्वोच्चको फैसलालाई ‘राजनीति प्रेरित’ भन्दै माओवादी केन्द्रले पुनरवलोकनमा जाने निर्णय गरेको थियो ।

पार्टीको निर्णयानुसार मंगलवार प्रचण्ड आफैँ पुनरवलोकन निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

निवेदन दिएर फर्किने क्रममा सर्वोच्च परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त फैसला पुनरवलोकन हुने विश्वास व्यक्त गरेका थिए ।

एमालेभित्रको खनाल–नेपाल पक्षले पनि सर्वोच्चको आदेश अनुचित भएको प्रतिक्रिया दिएको थियो ।

बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले प्रचण्डको निवेदनलाई निस्सा दिन नमिल्ने ठहर गरेको हो ।

सर्वोच्चको यो निर्णयसँगै नेकपा ब्युँताउने प्रचण्डको प्रयास विफल भएको छ । नेकपा एकता भंग भए पनि अर्को पक्ष नेकपा एमाले भने पुनरवलोकनमा गएको थिएन ।

 


१९ चैत २०७७, बिहीवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु