नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई ३ बजे अन्तिम संस्कार गरिने

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई शनिबार ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ ।

मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने र ३ बजे आर्यघाट लगिने पारिवारिक स्रोतले जनाएको छ । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।

जोशीको पार्थिव शरीर उनको निजी निवास हुँदै पार्टी कार्यालय सानेपा लगिएको विद्यार्थी नेता युपी लामिछानेले बताए । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

पूर्वउद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।


१४ चैत २०७७, शनिवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु