बझाङमा महिला हिंसाका घटना दोब्बर

बझाङमा महिला हिंसाका घटना दोब्बरले वृद्धि भएका छन् । सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले घरेलु हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे पनि यसको न्यूनिकरणका लागि भने कुनै पहल गरेका छैनन् ।

पछिल्लो समयमा महिलाहरू घरेलु हिंसाका चपेटामा पर्दे गएका छन् । परिवारका आफन्तहरूबाटै घरेलु हिंसा हुने गरेको र कतिपयले सहन नसकेर आत्महत्या गर्ने अवस्थासम्म पुगेको जयपृथ्वी नगरपालिकाकी कालीदेवी सार्कीको गुनासो छ । आफूहरूले हिंसा न्यूनिकरणको प्रयास गरेको उहाँको दावी छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले आर्थिक वर्ष २०७५÷०७६ मा महिला हिंसाका १ सय ३२ वटा र आर्थिक वर्ष २०७६÷०७७ मा २ सय ४ वटा उजुरी दर्ता गरेको छ । पछिल्लो समयमा बलात्कारका घटनाहरूमा बृद्धि भएको महिला अधिकारकर्मी सीता सिंह बताउनुहुन्छ । महिलामाथि हुने हिंसा नजिकैको आफन्तबाट हुने गरेको उहाँको बुझाइ छ ।

बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।

बलात्कार एवं महिला हिंसाबाट पीडित महिलाहरूलाई सुझाव, परामर्श, कानुनी उपचार र स्वास्थ्य सेवा प्रदान गर्न पालिकाहरूको सहयोगमा बझाङमा सेफ हाउस सञ्चालनमा ल्याइएको छ । अहिले सेफ हाउसमा बलात्कार, महिला हिंसा र सबैभन्दा धेरै घरेलु हिंसाका घटनाहरू दर्ता हुने गरेको सेफहाउस प्रमुख गीता शाहीले बताउनुहुन्छ ।


५ चैत २०७७, बिहीवार १५:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु