स्थलगत रिपोर्ट : बुधबार दिउँसो २ बजेसम्म सम्पर्कमै थिइन् भागरथी

बैतडीको दोगडाकेदार गाउँपालिका चडेपानी कि १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला देश नै आन्दोलित भएको छ । दुई वर्षअघि कञ्चनपुर कि १३ वर्र्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको झल्को भागरथी घटनामा देखिन्छ ।

माघ २१ गते बिहान स्कुल हिँडेकी भागरथी विद्यालयमा पुरै विषय पढिसकेपछि साथीहरुसंगै घर हिँडेकी थिइन् । विद्यालय भागरथीको घरबाट करिब ३ किलोमिटरको दुरीमा पर्छ । विद्यालयबाट करिब १० मिनेटको दुरीसम्म साथीहरुसंगै खोच्लेक प्रहरी चौकीसम्म पुगेकी भागरथी त्यहाँबाट साथीहरुबाट छुटिएकी थिइन् । साथीहरुसंग छुटेर उनी घर जान उकालो चढेको स्थानीयहरुले पनि देखेका छन् । स्थानीयकाअनुसार करिब २ बजेको समयमा भागरथी प्रहरी चौकीबाट उकालो चढेर घरतिर लागेकी हुन् । त्यसपछि उनको अवस्था कस्तो भयो र कहाँ गइन् कसैलाई थाहा भएन । उनी बेलुकासम्म पनि घर नपुगेपछि गाउँमा उनको खोजी सुरु भयो । सुरुमा आफन्तले उनले कतै भागेर विहे गरेर गइन् कि भन्ने अड्कल पनि काटे ।

छोरी घरमा नआएकोबारे भागरथीकी आमाले सदुरमुकाममा रहेका देबर शिवराज भट्टलाई फोन गरेर जानकारी गराइन् । भतिजी घर नआएको जानकारी पाएपछि उनले तुरुन्तै करिब ७ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि तत्कालै भागरथीको खोजी गर्न सुरु ग¥यो । खोच्लेक हुँदै बाहिरिने गाडीहरुलाई निगरानीमा राख्दै प्रहरीले भागरथीलाई खोज्न थाल्यो । तर भागरथी त्यो दिन फेला पर्न सकिनन् ।

प्छिल्लो दिनसम्म सम्पर्कविहीन भएको २४ घण्टा बित्दा पनि उनको अवस्थाबारे कुनै जानकारी हुन सकेन । प्रहरीसंगै आफन्तले सबैतिर खोजी सुरु गरे । पछिल्लो दिन खोचलेक बजारबाट आउने दुई जना विद्यार्थीहरुलेनै जंगलमा हत्या गरिएको अवस्थामा केही टाढैबाट शव देखे । जो भागरथीकै छिमेकी हुन् । सडकबाट तलतिर झाडी भाँचिएको जस्तो लागेर उनीहरुले त्यहाँ नजर लगाएका थिए । उनीहरु बाटो नजिकैबाट शव देखे तर कसको हो भनेर नठम्याउँदै आत्तिएर घर गए र घटनाबारे बाजे मनोरथ भट्टलाई सुनाए । मनोरथ भट्ट पनि उनीहरुलाई साथैमा ल्याएर घटनास्थल पुगे । टाढैबाट देखे शव । उनी भन्छन्, ‘मान्छेको शव देखेँ, तर नजिकै नगएर प्रहरीलाई खबर गरेँ । प्रहरी आएर हेर्दा मात्रै भागरथीकै शव भएको पुष्टि भयो । मैले पनि त्यतिबेलै थाहा पाएँ ।’ टाढैबाट महिलाको शव देखेपछि अगाडिनै आफ्नो ध्यान हराएकी भागरथीतिर पनि गएको उनी बताउँछन् ।

  1. भागरथीको शव फेला परेपछि आफन्तले सुरुमा त्यहाँबाट पनि शव उठाउन दिएका थिएनन् । हत्यारा पत्ता नलाग्दासम्म त्यहाँबाट शव उठान नदिने अडान स्थानीयले लिएका थिए । तर प्रहरीले घटनास्थलमा गर्नुपर्ने प्रक्रिया पूरा गरेपछि अपराधी पत्ता लगाउन पोष्टमार्टम आवश्यक पर्ने हुँदा मात्रै आफन्तले पछि मात्रै शव उठाउन दिएका थिए ।

अहिले शव पोष्टमार्टम गरिसकेपनि आफन्तले शव बुझेका छैनन् । शनिबारनै भएको पोष्टमार्टम रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या गरिएको पुष्टि भइसकेको छ । तर बलात्कार सामूहिक हो वा एक्लै हो भन्ने बुझ्नका लागि स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीकाअनुसार स्वाव परीक्षणको रिपोर्ट आएपछि मात्रै घटनामा कति जनाको संलग्नता थियो भन्नेबारे थाहा हुनेछ । अर्कोतर्फ उक्त घटनामा शव भेटिएकै ठाउँमा भएको हो वा अन्यत्रै हत्या गरेर सो ठाउँमा ल्याएर फालिएको हो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । घटनास्थलको प्रकृति हेर्दा अन्यत्रनै हत्या गरेर त्यहाँ ल्याएर शव फालिएको स्थानीयको दाबी छ । तर, प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको बताइरहेको छ । शव भेटिएको ठाउँमा सडक भन्दा ५० मिटर जति तलतिर छ ।

‘अपराधी पत्ता नलाग्नेसम्म फर्किन्न’

भगरथीको हत्या भएको तीन दिनपछि बैतडी गएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तम सुबेदी घटनाकै अनुसन्धानमा लागिरहेका छन् । घटनालाई गम्भीरताका साथ लिएर आफूसहितको प्रहरी टोली अनुसन्धानमा सक्रिय भएर लागिरहेको डीआईजी सुबेदीले बताए । उनले यो घटना निर्मला हत्याकाण्ड जस्तो रहस्यमै नरहेने दाबी गरे । ‘घटनाको प्रमाण संकलनदेखि अनुसन्धानलाई कसरी सुश्म बनाउने भन्नेतर्फ हामी सजग छौं,’ उनले भने, ‘शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाइरहेका छौं । सबै प्रमाणहरुको विश्लेषण गर्ने काम भइरहेको छ ।’

डीआईजी सुबेदीले अनुसन्धानको दायरा साँघुरो हुँदै गएको र केही दिनमै अपराधी पहिचान हुने दाबी गरे । यसका लागि सबैको साथ आवश्यक रहेकोसमेत उनले बताए । ‘हामी अपराधीलाई जसरी पनि पत्ता लगाएर सार्वजनिक गर्छौं,’ उनले भने, ‘बरु जनताले हामीलाई साथ दिनुपर्छ ।’ पीडित परिवारबाट पनि घटनाको अनुसन्धानमा राम्रो सहयोग पाएको उनले बताए ।

शव सुरक्षित राख्न समस्या

भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव उठाउन नमानेपछि जिल्ला अस्पताल बैतडीलाई शव व्यवस्थापनमा समस्या भएको छ । घटना भएको नौं दिन बित्दासम्म आफन्तले शव बुझेका छैनन् ।

अघिल्लो हप्ताको बिहीबार फेला परेको शवको दुई दिनपछि शनिबार पोष्टमार्टम रिपोर्ट आइसकेको थियो । रिपोर्टले बलात्कार गरेर हत्या गरेको पुष्टि भएदेखि आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । अस्पतालसंग शव सुरक्षित राख्ने साधन नहुँदा समस्या भइरहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट बसन्तराज जोशीले बताए । अहिलेका लागि काठको बाकसमा आइस राख्दै चिसो बनाएर शव राखिएको बताए ।

‘हामीसंग अहिले शव राख्ने मर्चरी छैन,’ उनले भने, ‘स्थानीयस्तरमै प्राप्त काठको बाकसमा आइस राखेर शव चिसो पारेर राखेका छौं । यसरी पनि धेरै दिनसम्म राख्न सकिँदैन । शव गन्हान सुरु भइसकेको छ ।’ उनले मर्चरी मगाउन पहल भइरहेको बताए । अनुसन्धानका लागि चाहिने आवश्यक स्वावलगायत लिइसकेकाले शव बुझ्न आग्रह अस्पतालले आग्रह गरेको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पनि शव सड्ने अवस्थामा पुगिसकेको र अनुसन्धानका लागि आवश्यक चिज लिइसकेकाले शव बुझ्न आफन्तलाई आग्रह गरिएको बताए । अपराधी पत्ता लगाउन प्रहरी प्रशासनलगायक सबै सक्रियताका साथ लागिरहेको उनले बताए ।

डीआईजी सुबेदीले पनि घटनाको अनुसन्धानका सम्पूर्ण प्रमाण लिइसकेकाले शव बुझेर दाहसंस्कार गर्न परिवारसंग आग्रह गरे । ‘दुःख दिएर मारिएकी मागरथीको शव फेरि सड्ने अवस्था आउनु राम्रो होइन,’ उनले भने ।

गत हप्ताको बुधबार विद्यालय गएकी भागरथी भट्टको शव बिहीबार बेलुका घरदेखि दुई किलोमिटरको दुरीमा रहेको जंगलमा अर्धनग्न अवस्थामा भेटिएको थियो । घटना भएको नौं दिन पुग्दासम्म हत्यारा पत्ता लाग्न नसकेको भन्दै अहिले दैनिक रुपमा सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । भागरथीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि झन दैनिक रुपमा प्रदर्शन भइरहेको छ ।


१ फागुन २०७७, शनिवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु