धनगढीबाट काँग्रेसले भन्यो, ‘ओलीले थप अप्रीय कदम चाल्न सक्छन्’

नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीले थप अप्रीय कदम चाल्नसक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ ।

संविधान विघटनविरुद्ध नेपाली काँग्रेस कैलालीको क्षेत्र नं. ५ ले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले ओलीको कदमप्रति सचेत रहन आग्रह गरेका हुन् ।

विरोध सभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले ओलीले देशमा संकटकालसम्म लगाउन सक्ने बताए ।

व्यक्तिगतका स्वार्थका कारण प्रतिनिधि सभा विघटन गराएको भन्दै पन्तले अझै पनि आफु अनुकुल परिस्थिति नआए प्रधानमन्त्री ओलीले अझै अप्रिय कदम चाल्न सक्ने बताए ।

‘ओली सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको छ,’ उनले भने, ‘संकटकालसम्म लगाउने थप अप्रिय कदम लाक्न सक्छन् । सबै सचेत भएर तयारी अवस्थामा सस्दा हुन्छ ।’

उनले संविधान संशोधनविरुद्ध सर्वोच्चमा परेका रिटमाथिको अनुसन्धानमा पनि ओलीको प्रभाव पर्नसक्ने आशंका व्यक्त गरे । ‘संसद विघटनविरुद्ध रिट परेपनि ओलीको न्यायलयमा राम्रो प्रभाव छ,’ उनले भने, ‘उनकै पक्षमा फैसला पनि हुन सक्छ ।’ उनले संसद पुनवहाली भएपनि ओलीले संकटकाल लगाउन सक्ने आँकलन गरिएको बताए । यो अवस्थामा हामीले सचेत भएर बस्नुपर्ने उनको भनाई छ ।

ओलीले संकटकाल लगाए आफूहरुलाई जेलनेल हुन सक्ने भन्दै सामनाको लागि तयारी बस्नुपर्ने बताए। सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दिव्यश्वरी शाहले ओलीको संविधानमाथिको ‘कु’विरुद्ध नेपाली काँग्रेसले डटेर सामान गर्ने बताए । उनले वर्तमान सरकार र नेकपाले देश र जनतालाई अनिर्णयको बन्दी बनाएको बताइन्।

यस्तो, काँग्रेस महासमिति सदस्य सुनिल भण्डारीले नेकपा सरकारले संसद विघटन गरेर जग हँसार्इ मच्चाएको बताए। निर्मला पन्तको बलात्कारी खोई भनेर लेखिएको भेस्ट लगाउँदा प्रहरीले पक्राउ गर्नु दुर्भाग्य रहेको उनको भनार्ई छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले वर्तमान सरकार र नेकपाले नेपालको संविधानमाथि मनलाग्दी गरेको आरोप लगाए । उनले कम्युनिष्टले संविधानमाथि मनलाग्दी गरेको बताए । उनले ओलीले व्यक्तिगत स्वार्थ पूर्ति गर्न नपाएर संसद विघटन गराएको आरोप लगाए ।

निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ की नेतृ कलावती जोशीको अध्यक्षतामा भएको विरोध सभामा नेपाली काँग्रेस कैलालीका सदस्य नृप सुनार, महासमिति सदस्य क्षीतिज भण्डारी, केशव मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


२५ पुस २०७७, शनिवार २०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु