बलात्कारको मुद्धा मिलापत्र गराउने बैतडीबाट दुईजना पक्राउ
बलात्कार मुद्धा मिलापत्र गराउने बैतडीबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिकावडा ३ का मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको हो । दुवैजनामाथि अनुसन्धान शुरु भइसकेको अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी गराउनु भयो।
बलात्कारको घटनामा संलग्न भनिएका दीपकसिंह धामी भारतमा रहेका बुझिएको र अर्का एकजनाको खोजी कार्य भइरहेको उनले जानकारी दिए। सिगास गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो। घटना भएका बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै गाउँमै मिलाएको र मिलापत्रमा उल्लेख भएको मितिमा पीडितले सुन नपाएपछि घटना बाहिर आएको हो।
१८ वर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। मिलापत्रमा कात्तिक मसान्तमा पीडित पक्षलाई सुन दिने सर्त राख्दै तमसुक बनाइएको थियो।
उक्त मितिमा सुन दिनुको सट्टा पीडिकले पीडित पक्षलाई धम्क्याउन थालेपछि घटना बाहिर आएको हो। पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी गराए ।
१२ मंसिर २०७७, शुक्रवार ११:०० बजे प्रकाशित













