आज लक्ष्मीपूजा र कुकुर तिहार एकैदिन
आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ ।
यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ ।
आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ ।
इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।
आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ । सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। गौतमले जानकारी दिए ।
२९ कात्तिक २०७७, शनिवार ०८:२० बजे प्रकाशित













