नेता ओझाको रिहाइको माग गर्दै प्रशासन अगाडि धर्ना
नेविसंघका नेता दिपक ओझाको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिइएको छ ।
कैलालीको गोदावरी–४ घर भएका नेता ओझालाई रिहाईको माग गर्दै नेविसंघ कैलालीले विरोध प्रदर्शन गर्दै आएको छ। अत्तरियाबाट मोटरसाईकल ¥यालीसहित प्रशासन पुगको नेविसंघ कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका हुन् ।
धर्नापछि नेपाली काँग्रेस कैलालीका पार्टी सदस्य नृप सुनारले आफ्नो कार्यकर्ता अनाहकमा पक्राउ गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । अन्यायविरूद्ध लड्ने र अन्याय नसहने नेविसंघको मौलिक चरित्र रहेको उनले चेतावनी दिए । उनले आफ्ना नेताहरूलाई श्रृंखलावद्ध रूपमा पक्राउ गरी झुटा मुद्दा लगाउने सरकारी अहंकारले आफूहरूलाई विरोधमा उत्रिएको बताए ।
कार्यक्रममा नेविसंघ कैलालीका पूर्व सभापति कृष्ण कुँवर, नेविसंघ कैलालीका सभापति भेष वम, नेविसंघका क्षेत्रिय सभापति गणेश शाहलगायतले मन्त्व्य व्यक्त गरेका हुन् । ओझालाई प्रहरीले कार्तिक १२ गते अत्तरिया कैलालीबाट नियन्त्रणमा लिएको थियो ।
बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको अमानवीय र निन्दनीय रबैया भएको नेविसंघले जनाएको छ ।
१६ कात्तिक २०७७, आइतवार १८:२३ बजे प्रकाशित































