प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा अन्त्येष्टि

नेपाल भारतको सीमा नाकामा हत्या गरेको अवस्थामा भेटिएका धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउँदको अन्त्येष्टि गरिएको छ ।

साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।

प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आइतबार बिहानै शव भेटिएको थियो ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । जसमध्ये अपराध स्वीकार गरेका सात जनालाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । अझै केही फरार रहेका व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।


५ कात्तिक २०७७, बुधवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु