चौधरी ग्रुपको वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४२ जनालाई कोराना संक्रमण
बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा संक्रमण भएपछि अहिले बाँसगढी नगरपालिकाको पुरै क्षेत्र सिल गरिएको छ ।
सङ्क्रमण पुष्टि भएका ४२ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चारजना बढैयाताल गाउँपालिका र चारजना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरूछन् ।
चाउचाउ उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ २८ गतेसम्मका लागि बाँसगढी नगरपालिका क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालका अनुसार भदौ २२ गते बिहान ६ बजेदेखि भदौ २८ गते राति १२ः०० बजेसम्मका लागि पूर्णरुपमा नगरपालिकाको चारैकिल्ला तोकेर सिल गरिएको छ ।
नगरपालिकाको पूरै क्षेत्र सिल गरिए पनि पूर्वपश्चिम राजमार्ग भएर अन्य जिल्ला आउजाउ गर्ने सवारी साधन भने चल्ने सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।
२२ भदौ २०७७, सोमवार ०६:४३ बजे प्रकाशित































