धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाको काम सुरु
घनगढी, साउन ५ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले सोमबारदेखि काम थालनी गरेको छ । निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सनले प्रारम्भीक चरणको काम सुरु गरेको हो ।
कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलका अनुसार चौराहादेखि कैलाली नालासम्मको सर्भेको काम पूरा भएको छ । त्यसैगरी गुल्म–चर्च सडकको सर्भे अन्तिम चरणमा पुगेको छ भने शहिद गेटदेखि क्याम्पस रोड सडकको ३ दशमलव ५ किलो मिटरमध्ये २ दशमलव ५ किलोमिटर सर्भेको काम पूरा भएको छ ।
क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले गए असार २८ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा संचालन भएको आयोजना अन्तरगतका अरु कामहरु सुरु भएपनि सडक र नाली निर्माणको काम अगाडि बढ्न सकेको थिएन । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा सात वटा सडक निर्माण हुने भएका सम्झौतामा रहेको छ ।
पहिलो चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेनरोड, ट्राफिक चौराहादेखि–कैलाली नाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड– चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी– खुटीया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेको छ ।
निर्धारित समयमा नै काम सम्पन्न हुने गरि निर्माणको काम अगाडि बढेको नगरप्रमुख नृपबहादुर वडले बताए । उनले पहिलो चरणको काम पूरा भएमा दोश्रो चरणको काम सुरु हुने र त्यसमो सबै नगरबासीको सहयोग आवश्यक रहेको बताए ।
५ साउन २०७७, सोमवार १२:५० बजे प्रकाशित














