कैलाली र कञ्चनपुरमा ५०-५० शैयाको कोरोना अस्पताल बन्दै

धनगढी । कोरोना सङ्क्रमण बिरामीको उपचारका लागी प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा ५०-५० शैय्याको अस्पताल निर्माण सुरु गर्न थालेको छ ।

प्रदेश सरकारले सेती र महाकाली अस्पतालको हस्तान्तरणमा बन्ने गरी तत्काल ५०-५० शैय्याका कोरोना अस्पताल निर्माण गरिरहेको जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले यस्तो कार्य गरेको बताएको छ । छुट्टा छुट्टै अस्पताल बनेपछि बिरामीको उपचार गर्न र सङ्क्रमित बिरामीलाई छुट्टै राख्न सजिलो हुने र तत्काल अस्पताल निर्माण भएपछि कोराना बिरामीको उपचारमा सहज हुने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेम राज पाण्डेले बताए ।

कैलाली र महाकाली अस्पताललाई ५०-५० शय्याको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भइसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

उद्योग वाणिज्य सङ्घको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शय्याको आइसोलेसन भवन निर्माण सुरु भइसकेको छ ।

९४ लाखमा एक महिना भित्र काम सक्ने गरी किनारा कन्स्ट्रक्सन भवन निर्माणको ठेक्का दिएको छ । वैशाख २ गते देखी काम सुरु भएको निर्माण ठेकेदार रोहित रानाले बताए ।

१ महिनाको निर्माण सम्पन्नको सम्झौता भएपनी काम १५ दिन भित्रै सक्न भनेको बताउँदै काम रफ्तारमा भइरहेको उनले बताए । उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ ।

तर निर्माण सम्झौता भने नभएको जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेकोले चाडै सम्झौता प्रक्रियामा जाने बताए।

अहिले सुदुर पश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


७ वैशाख २०७७, आइतवार ०२:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु