भारतीय क्वारेन्टाइनमै बिसु पर्व मनाएका नेपाली भन्छन् : अब त घर पुर्यादिएहुन्थ्यो !
बैतडी,बैशाख । सुदूरपश्चिममा नयाँ वर्ष अर्थात् बिसु पर्व मनाइएको छ। बिसुमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन छ।
बिहानै नुवाईधुवाई गरेर विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने चलन छ। तर यो वर्ष कोरोनाका कारण बिसुको रौनक भने नभएको स्थानीयहरुले बताएका छन्। परदेसिएकाहरु पनि गाउँघरमा आउन नपाउँदा बिसुको रौनक छैन भने लकडाउनका कारण पनि बिसुको रौनक नभएको दशरथचन्द नगरपालिका १ का देवदत्त भट्टले बताए। क्वारेन्टाइनमै मनाए बिसु बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटका विभिन्न स्थानमा बसेका नेपालीले क्वारेन्टाइनमै बिसु मनाएका छन्।
बिसुका लागि घर फर्कने योजना रहेको भए पनि सीमा नाका बन्द हुँदा घर फर्कन नपाएको पुर्चौंडी नगरपालिका ८ का दीर्घराज जोशीले बताए। क्वारेन्टाइनमै भात खाएर बिसु मनाउनुपरेको बाध्यता उनले सुनाए। क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेकाले स्वदेश फर्काउन पनि उनले सरकारसँग माग गरेका छन्। दीर्घराजजस्तै दुई सय ५० भन्दा बढी नेपाली मजदुर सीमावर्ती झुलाघाटका विभिन्न क्वारेन्टाइनमा छन्।
२ वैशाख २०७७, मंगलवार ००:२७ बजे प्रकाशित