भारतसँग सीमा जोडिएको १०१ किलोमिटर सीमाक्षेत्र शिल
कैलाली,चैत २९। भारतसँग सीमा जोडिएको कैलालीमा १०१ किलोमिटर क्षेत्रलाई सशस्त्र प्रहरीले पूरै सिल गरेको छ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण देश लकडाउन भएको बेला मानिसहरू भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पूरै सीमा नाकालाई सिल गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले १०१ किलोमिटर लामो सिमानाको ७२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर सुरक्षाका साथै निगरानी गर्दै आएको जानकारी दिएको छ।
कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमामा हुन सक्ने आवतजावतका साथै सुरक्षासमेत दिइरहेको गणपति, सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।
उनले १९ स्थानमा टेण्ट र ५३ स्थानमा सेन्ट्री स्थापना गरेर सुरक्षा दिइरहेको बताए।
२९ चैत २०७६, शनिवार ०३:४३ बजे प्रकाशित