कैलालीका कोरोना संक्रमित युवा चैत ११ गते एक हजार जनाको भीडमा थिए !
धनगढी,चैत २२ । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो ।
चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले संक्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरे । उक्त दिन भारतबाट फर्किएका एक हजारभन्दा बढी नेपालीले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए ।
ढुंगामुढा भएपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो । सोही दिन कैलालीको पूर्वी सहर लम्की पुगेका ती युवकलाई अर्को दिन बिहान लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।
मुम्बईबाट आएका प्रतापपुरका कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवक १२ गते धनगढी हुदै गाँउपुगेका थिए ।
स्थानीय प्रहरीले लकडाउनका कारण त्यहाँ रोेकेका नेपालीहरुलाई २१ वटा बसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाएको थियो ।
२२ चैत २०७६, शनिवार १०:४३ बजे प्रकाशित