कञ्चनपुरको वेदकोटमा घुम्ती पसल सेवा शुरु

कञ्चनपुर: देशभर लक डाउनले आम नागरिकलाई दैनिक उपभोग्य सामग्रीको अभाव भइरहेको बेला कञ्चनपुरको वेदकोट नगरपालिकाले घुम्ती पसल सेवा शुरु गरेको छ । नगरपालिकाले वेदकोट उद्योग वाणिज्य संघसंगको सहकार्यमा घुम्ती पसल सेवा शुरु गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भयो ।

उहाँका अनुसार बिहिबारबाट शुरु गरिएको घुम्ती पसल वडा नम्बर ६, ७ र ८ मा सञ्चालन गरिएको छ । त्यस्तै, मिनि ट्रकको व्यवस्था गरेर अन्य वडामा पनि सेवा विस्तार गरिने उहाँको भनाइ छ ।

लकडाउनको समयमा नगरवासीलाई खाद्यन्न अभाव हुन नदिन घरघरमै सेवा दिन घुम्ती पसल शुरु गरिएको वेदकोट नगरपालिकाले जनाएको छ । त्यस्तै, वेदकोट उद्योग वाणिज्य संघका महासचिव राम चन्द्र रेग्मीले नगरका आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको सहजताका लागि सेवा सञ्चालन गरिएको बताउनु भयो ।

उहाँका अनुसार, घुम्ती पसल मार्फत दाल, चामल, गहुँको पिठो, तरकारी लगायत दैनिक उपभोग्य सामग्री वितरण गरिने छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले चैत २५ गतेसम्म देशभर लक डाउनको घोषणा गरेको छ ।


२० चैत २०७६, बिहीवार ०६:५० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु