कोरोनाको कारण समस्यामा रहेकालाई राहत दिने निर्णय: खोजी हुँदै
काठमाण्डाै – सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदुरका सम्बन्धमा राहतको घोषणा गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत तयार पार्न पालिकालाई जिम्मा दिने निर्णय गरेको छ । राहत लिने परिवारले पालिकाका वडामा गएर परिचय पत्र उपलब्ध गराउनुपर्ने छ ।
पालिकाले ‘लकडाउन’को अवधिभर पुग्ने गरी राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता खतिवडाले बताउनुभयो । परिवार सङ्ख्याका आधारमा पालिका र प्रदेश सरकारले कोष खडा गरी राहत उपलब्ध गराउने छन् । त्याे कोषमा रकम अभाव भए सङ्घीय सरकारको कोषबाट रकम उपलब्ध गराउने र त्यसका लागि प्रदेश तथा पालिकामा समन्वय गर्ने निर्णय भएको छ ।
१७ चैत २०७६, सोमवार ०२:०१ बजे प्रकाशित