कोरोना भाइरस नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले पनि क्वारेन्टाइन संचालन

कैलाली : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले पनि क्वारेन्टाइन संचालनमा ल्याइएको छ ।
घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी क्याम्पसको हलमा बुधबारदेखि करिब ३५ बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।
यस अघिनै नगरपालिकाले १३ बेडसहितको परामर्श केन्द्र संचालनमा ल्याएपनि नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श पश्चात् राख्नको लागि क्वारेन्टाइन संचालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।
नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइन संचालन तथा व्यवस्थापनका लागि शुक्रबार समिति समेत गठन गरिएको छ ।
घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको हो । जसको सदस्यमा क्रमश: लक्ष्मी प्रसाद भट्टराई , दुर्गा प्रसाद गौतम ,टेकराज आचार्य ,होम प्रसाद आचार्य ,रमेश आचार्य , चादँनी आचार्य, वीर बहादुर चन्द , सिद्ब आचार्य, वक्त कुमार शाही ,दिनेश लामिछाने, मीन बहादुर धामी र सशस्त्र प्रहरीबाट एक जना गरि कुल १३ जनाको समिति गठन गरिएको छ ।
क्वारेन्टाइनमा राखिएको मानिसहरुमा स्वास्थ्य , खाना , लत्ताकपडा ,पानी , सरसफाइ लगायतका कुराहरुमा एकदमै ख्याल गर्नु पर्ने भएको हुँदा समिती गठन गरिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशराज रेग्मीले बताए । उनले क्वारेन्टाइनका लागि आवश्यक कुराहरु उक्त समितीले पूरा गर्ने बताए ।
क्वारेन्टाइनको लागि नि:शुल्क घर घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीले क्वारेन्टाइन निर्माण गर्नको लागि आफ्नो नयाँ बनेको घर उपलब्ध गराउने बताएका छन् । अध्यक्ष शाहिले शुक्रबार क्वारेन्टाइनको व्यवस्थापनका लागि छलफल कार्यक्रममा पुर्व पश्चिम राजमार्गको छेउमै रहेको १५ कोठासहितको भवन उपलब्ध गराउने घोषणा गरेका हुन् ।
१४ चैत २०७६, शुक्रवार १०:०६ बजे प्रकाशित