कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि चौरपाटी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम
अछाम : अछामको चौरपाटी गाउँपालिकामा खान्डाँडाँ समाज सुधार युवा क्लबले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत खान्डाँडाँ टोलमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरसफाई र घर-घरमा गएर स्थानीयलाई सरसफाईमा ध्यान दिन सुझाब दिईएको खान्डाँडाँ समाज सुधार युवा क्लबका अध्यक्ष नविन साउदले जानकारी दिनुभयो ।
विश्वभरी फैलिएको कोरोना भाइरस विरुद्ध लड्न मंगलबार र बुधबार उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो । टोलबासीलाई जनचेतना दिन आवश्यक रहेकाले यस्तो कार्यक्रम गरेको क्लबका सचिब डम्मर साउँद बताउनुभयो ।
साथै उक्त कार्यक्रम मार्फत २ सय हातधुने साबुनहरु वितरणसहित जनचेतनामूलक कार्यक्रम गरिएको सचिब डम्मर साउँदले जानकारी दिनुभयो । कोरोना भाईरसले आमनागरिकमा भ्रमको सिर्जना भइ जनमानसमा त्रास बढ्न थालेपछि जनचेतनामुलक कार्यक्रम सहित यस सरुवा रोगबाट बच्ने उपायहरुका बारेमा समेत जानकारी गराईएको क्लबका सदस्य महेन्द्र साउँले बताउनुभयो ।
पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान सर्वसाधारणलाई सुझाव समेत दिएको उहाँले बताउनु भएको छ । साथै क्लबले सबै टोलबासीलाई सचेत रहन तर नआत्तिन अनुरोध समेत गरेको छ ।
१२ चैत २०७६, बुधवार ०८:०० बजे प्रकाशित