कोरोनाको सन्त्रास : कैलाली–कञ्चनपुरमा सीमा नाकादेखि बजार व्यवसायसमेत बन्द

धनगढी– भारतमा कोरोना भाइरस (काेभिड–१९) संक्रमण बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा संक्रमण रोक्न सीमा नाका र बजारसमेत बन्द गर्ने सम्मका निर्णय गरिएको छ।

पछिल्ला केहीदिन यता भारतमा रोजगारी गरिरहेका नेपालीहरु कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकाबाट दैनिक हजारौंको संख्यामा नेपाल भित्रिएपछि कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै विभिन्न सावधानी अपनाउन थालिएकाे हाे।
कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार (चैत ११ गते)देखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार उक्त निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले गड्डाचौकी नाका चैत ११ गते बिहान ७ बजेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बताए।

कैलाली उद्योग वाणिज्य संघले अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न
संघले आइतबार सबै व्यवसायीलाई आह्वान गरेको हो।

कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया बजार सोमबारदेखि बन्द हुने भएको छ। गोदावरी नगरपालिकाको कार्यालयमा आइतबार बसेको सर्वपक्षिय बैठकले भोलि अर्थात सोमबारबाट लागु हुने गरी अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरेको हो।


९ चैत २०७६, आइतवार १४:३२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु