बेलायतमा नोभल कोरोना भाइरसबाट नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ। कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो।
उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पूर्व गोरखा सैनिक राईको कोरोना संक्रमणबाटै मृत्यु भएको जानकारी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले थाहाखबरलाई दिए। ‘हो, उहाँ (लीलाबहादुर) को कोरोनाबाटै मृत्यु भएको पुष्टि अस्पतालले गरेको छ। परिवारले पनि मलाई यसबारे जानकारी दिएका छन्’, अध्यक्ष राईले भने, ‘गम्भीर बिरामी भएपछि उहाँलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकोमा त्यही साँझ मृत्यु भएको खबर आएको छ।’ राई यही साता मात्रै अस्पतालबाट घर फर्किएका थिए।
तर मंगलबार अपरान्ह ४ बजेको समयमा स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई फेरि नर्थवीक पार्क अस्पताल लगिएको थियो। तर साँझ ८ बजेको समयमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे। राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ। संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए।
आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए। राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए। राईको २० वर्षअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको पारिवारिक श्रोतले जनाएको छ। कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ। परिवार नै आइसोलेसनमा रहेकाले आफन्तहरुलाई भेट्न दिइएको छैन। उता संखुवासभा समाज बेलायतले जिल्लाबासी र आफन्तलाई राईको परिवार आइसोलेसनमा रहेको जानकारी दिएको छ।
उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट निस्किएपछि मात्रै भेटघाट गर्न पाउने पाइने समाजले जनाएको छ।


८ चैत २०७६, शनिवार २३:३० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु