भारतसँग सीमा जोडिएका डडेल्धुराका दुई नाका बन्द गरिँदै

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाअन्तर्गत भारतसँग सीमा जोडिएका दुई नाका बन्द गरिने भएको छ। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको हो। 

स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए।  उनले भने, ‘हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिकाअन्तर्गत रहेका दुईवटै नाका हाललाई बन्द गर्ने निर्णय गरिएको हो।’ 

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चित कालका लागि परशुराम नगरपालिका-५ को बाङघाट र परशुराम नगरपालिका-६ को सिसमजालाघाट पूर्ण रुपमा बन्द गरिने परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमित मानिस यो नाकाहरुबाट आउला न आउला, तर सतर्कताका लागि चैत ४ गतेदेखि केही समयका लागि तारउतारघाट बन्द गरिनेछ।’

परशुराम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवालाहरुको संयुक्त अनुगमन पश्चात नाका बन्द गर्ने निर्णय गरिएकोसमेत नगरप्रमुख साउदले बताए।  सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिसहरू नेपाल-भारत आवतजावत गर्ने भएपनि घाट बन्द भएपछि दैनिक उपभोग्यका सामा देखि अन्य लत्ता कपडा र खाद्यान्य किनबेचमा समस्या आएको छ।

सीमानाका बन्द भएपछि परशुराम नगरपालिकाको सिसमजाला, सादनी, घुम्टेगडा, सिमलखेत, परिगाँउ, कटाल, जमरेनी, लामीगडालगायतका दर्जनौं बस्तीहरुका मानिसहरुलाई प्रत्यक्ष असर परेको छ।


४ चैत २०७६, मंगलवार ०२:२२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु