ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेलामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा सोही ठाउँका खगेन्द्र जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्नानन्द भट्टका अनुसार आइतवार बेलुका भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक खगेन्द्र जोशी र मोटरसाइकलमा सवार भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका थिए । घाइतेहरूको महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि भारतीय सहर खटिमा पठाइएको थियो । दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक खगेन्द्र जोशीको खटिमाबाट उपचारका लागि बरेली लैजाने क्रममा बाटोमा नै गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मृत्यु हुने खगेन्द्र जोशी सशस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको र पछिल्लो केही दिनदेखि जोशी बिदामा घर आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्मका डिएसपी केशबराज प्याकुरेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका हरि जोशीको खटिमामा उपचार भइरहेको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


३ चैत २०७६, सोमवार ०३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु