कञ्चनपुर सीमा बिवाद : नेपाली भुमिमा गाढिएका पिलर ढलाइयो

कञ्चनपुर : नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने नाममा लालपुर्जा प्राप्त नेपाली भुमिमा धमाधम गाडिएका र पिलर राख्न खनिएका खाडल भत्काएका छन् ।

सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका विवादहरुको अझै समाधान हुन नसकिरहेका बेला बेलौरी नगरपालिका र बेल्डाँडी गाउँ पालिकाको झन्डै ७० बिगाहा भन्दा बढी नेपाली भुभाग भारत तर्फ पर्ने गरि धामाधम पिलर गाड्न थालिए पछि स्थानीय जनता आक्रोशित बन्न पुगेका छन् ।

सीमा सर्वेका नाममा बृटिस -नेपालमा स्थापित जंगे पिलरहरुको आधारमा नगरी २०६०/०६१ सालमा गाडिएका स्तम्भका आधारमा अहिले नक्सांकन गर्न थालिए पछि थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारत संग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा टोलिले गरेको कामबाट समाधान होइन विवाद चर्कने अबस्था देखिएको छ । कञ्चनपुरको बेलौरी -बेल्डाँडीमा नेपाली भुभागमानै अधिकांश पिलर गाढिन थालिए पछि स्थानीय जनताले बिरोध गर्दा अहिले सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ ।

यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो । नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित र आक्रोशित बनेका छन् ।

सीमा ब्यबस्थापनका नाममा गरिएको नक्सांकन र पिलर गाढ्ने कार्यबाट विवादित बनेको बेल्डाँडी गाउँ पालिका र बेलौरी नगरपालिका स्थित सीमा क्षेत्रमा शनिबार नेपाली कांग्रेस कञ्चनपुरले पनि स्थलगत अनुगमन गरेको छ ।कांग्रेसका नेता एवं पूर्वसांसदद्वय दिवान सिंह बिष्ट र बहादुर सिंह थापा, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा सहितका नेताकार्यकर्ता सम्मिलित टोलिले उक्त क्षेत्रको अनुगमन गरेको छ ।

नेपाली काँग्रेसको टोलिद्वारा गरिएको अनुगमनका क्रममा कांग्रेसका स्थानीय कार्यकर्ता र सर्वसाधारण नागरिकले हालै निर्माण गरिएका सीमा स्तम्भ तोडफोड गरेका छन् ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३/४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेका हुन ।
सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा २०५२ सालमा निर्माण सम्पन्न भएको महाकाली सिंचाइ परियोजनाको नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन् ।

सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताउनुभयो ।

उहाँले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्वस्फुर्त रुपमा गरेको उल्लेख गर्दै उक्त कार्यप्रति समर्थन जनाउनुभयो । उहाँले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाउनुभयो । नेता बिष्टले सीमा विवादका विषयमा कांग्रेसले संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् ।


२ चैत २०७६, आइतवार ०३:५८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु