रावललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमती
धनगढी : एक महिलामाथि बलात्कार गरेको अभियोग लागेका सुदूरपश्चिम प्रदेश सभाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक अक्कल रावललाई चार दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमती दिएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधिश कृष्ण प्रसाद नेपालको एकल ईजलासले नेकपा संसदीय दलका सचेतक रावलमाथि लागेको अभियोगमा अनुसन्धान गर्न चार दिनको म्याद थप्ने निर्णय गरेको हो ।
कैलाली जिल्ला अदालतको अनुमतीसंगै जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदेश सभा सदस्यलाई हिरासतमा राखी अनुसन्धान प्रकृया अघि बढाएको छ ।
माघ २१ गते धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा डेरा गरी बस्ने एक महिलालाई उनका पति नभएको मौका छोपी बलात्कारको दुस्प्रयास गरेको सांसद रावलमाथि आरोप छ ।
पीडित महिलाले प्रदेश सभा सदस्य रावलका बिरुद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी थिईन ।
आफू बिरुद्ध मुद्दा दायर भएपछि नेकपा संसदीय दलका सचेतक रावलले बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका थिए ।
भाञ्जी नाता लगाएर महिलासंग फेसबुकमा जोडिएका सांसद रावलले उनका पति घरमा नभएको मौका छोपी माघ २१ गते बलात्कारको दुस्प्रयास गरेका थिए ।
२३ फागुन २०७६, शुक्रवार ०१:४० बजे प्रकाशित