कोरोना संवेदनशीलताका लागि धनगढीमा सभा सम्मेलन आयोजना नगर्न नगर प्रमुख वडको अपिल

धनगढी : धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोना भाइसरको संवेदनशीलताका लागि कुनैपनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाडमा गरिने किसिमका कार्यक्रमहरुको आयोजना नगर्न अनुरोध गरेका छन् ।
बुधवार नगरवासीका नाममा अपिल जारी गर्दे उनले यस्तो अनुरोध गरेका छन् । अपीलमा चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) विश्वमा फैलँदै गएको र विश्वका ३३ भन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरिसकेको छ भनिएको छ।
हामीले पनि फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ अपिलमा भनिएको छ कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग हो ।
नगरप्रमुखद्धारा जारी अपीलमा भनिएको छ , यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न ,मास्क लगाउन,साबुन पानीले कुहिना सम्म हात सफागर्न , केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न , सभा सम्मेलन, भिडभाडमा सहभागि नहुन नगरवासीमा अनुरोध गर्दछौं ।
हल्दी, बेझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन पनि अनुरोध छ भनिएको छ ।
२१ फागुन २०७६, बुधवार ०८:५३ बजे प्रकाशित