उखु किसानका लागि पठाइयो थप ४९ करोड अनुदान

काठमाडौं : उखु उत्पादक किसानलाई सरकारले दिने अनुदान वितरण गर्न अर्थ मन्त्रालयले थप ४९ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको छ । बिहीबार उखु खेती हुने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई उक्त रकम पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
किसानलाई प्रोत्साहन स्वरुप राज्यले दिने कुल अनुदान १ अर्ब ३३ करोड ५३ लाख १४ हजार रुपैयाँमध्ये ९२ करोड रुपैयाँ यसअघि नै निकासा भएको थियो । गत वर्ष २ करोड ४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
बिहीबार अर्थले कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीलाई ११ करोड २८ लाख ९० हजार, सिराहालाई २ करोड ३९ लाख ४ हजार, सुनसरीलाई २ करोड ३३ लाख ८४ हजार, महोत्तरीलाई ६ करोड ७९ लाख रुपैयाँ पठाएको छ ।
यस्तै, रौतहटलाई २ करोड ७९ लाख ८८ हजार, बारालाई ५ करोड ७८ लाख ६८ हजार र नवलपरासी पश्चिमलाई २ करोड ६५ लाख ५० हजार र कोलेनिका कञ्चनपुरलाई ७ करोड ४४ लाख २१ हजार रुपैयाँ पठाइएको छ ।
उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ अनुसार सरकारले उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान वितरण गर्ने व्यवस्था छ ।
१७ फागुन २०७६, शनिवार ०२:१९ बजे प्रकाशित