काठ तस्करी गरिरहेको अवस्थामा दुई जना पक्राउ

कैलाली : कैलालीबाट काठ तस्करी गरिरहेको अवस्थामा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य निरज चौधरी र स्थानीय जित चौधरीलाई ५० थान कडी ढुवानी गर्दैगर्दै सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो ।

सव–वन डिभिजन कार्यालयल चौमालाले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टर समेत नियन्त्रणमा लिएको जनाएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलका अनुसार शुक्रबार बिहान चार बजेतिर उनीहरुलाई जंगलबाट सव–वन डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको टोलीले पक्राउ गरेको हो ।

से२प ८९४ नम्बरको ट्याक्टरमा ढुंगाभित्र काठ ढुवानी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रमुख कडेलले बताए । प्रारम्भिक अनुसन्धानबाट ट्याक्टर वडा सदस्य निरज चौधरीको रहेको भन्ने खुलेको वन कार्यालयले जनाएको छ । सव–डिभिजन वन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीका अनुसार ५० थान कडीको २९ दशमलव १६ क्यूफिट हुन्छ। सो अनुसार कडीको मुल्य ४२ हजार हुनआउँछ।


१७ फागुन २०७६, शनिवार ०२:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु