कोरोनाको संक्रमणले विश्वव्यापी ‘महामारी’ को रुप लिने खतरा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण अझै बिस्तार हुने सम्भावना रहेको भन्दै त्यसविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

कोभिड–१९ को सम्भावित महामारीका लागि विश्वका सबै देश थप तयारी अवस्थामा रहनु पर्ने डब्लुएचओले बताएको हो । अहिले नै कोभिड–१९ भाइरसको संक्रमणलाई विश्वव्यापी महामारी भन्ने अवस्था नरहेको तर देशहरु सम्भावित महामारीका लागि तयारी अवस्था रहनु पर्ने डब्लुएचओले उल्लेख गरेको छ ।

विश्वका धेरै क्षेत्रमा संक्रमण सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सर्न थालेपछिको अवस्थालाई विश्वव्यापी महामारी भन्ने गरिन्छ । चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण दक्षिण कोरिया, इटाली तथा इरानमा पनि धेरै मानिसमा देखिएपछि चिन्ता बढेको हो ।

अहिलेसम्म चीनमा ७७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । यसका कारण झण्डै २६ सय जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमणको दर भने चीनमा कम हुँदै गएको छ । चीनबाहिर ३० देशमा १२ सय भन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण भएको छ । चीन बाहिर कम्तिमा २० जनाको मृत्यु भएको छ ।


१३ फागुन २०७६, मंगलवार ०३:४६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु