बिना मास्क भारत पस्न रोक
नोवल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रको आवागमनमा कडाइ गरेको छ । भारतीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले सीमा क्षेत्रमा संयुक्त स्वास्थ्य जाँच सुरु गरेको हो ।एसएसबीले पश्चिमी नाका गड्डाचौकीबाट मास्कबिना भारत पस्न रोक लगाएको छ ।
‘मास्क नलगाई गएकालाई नाकाबाटै फर्काउन लागेको छ,’ महेन्द्रनगरका व्यवसायी नारायण साउदले भने, ‘नेपालबाट भारततर्फ जानेलाई कडाइ गरिएको हो ।’
ब्रह्मदेव, गड्डाचौकी र दोधारा चाँदनी क्षेत्रमा एसएसबीले स्वास्थ्य जाँचमा कडाइ गरेको हो । साउदका अनुसार सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसँगै बसेका स्वास्थ्यकर्मीको टोलीले रुघाखोकी लागेका तथा शंकास्पद व्यक्तिको जाँच गर्नुका साथै परामर्श दिने गरेका छन् ।
सशस्त्र प्रहरीको बीओपीका इन्चार्ज प्रहरी निरीक्षक रामसिंह भण्डारीले भने भारत तथा नेपाल दुवैतर्फ आउजाउ गर्नेलाई कडाइ गरिएको बताए ।
गड्डाचौकीको नागरिक सहायता कक्षका कर्मचारी नायब सुब्बा दानसिंह बोहराका अनुसार शुक्रबारदेखि सीमामा थप कडाइ गरिएको हो । उनका अनुसार एसएसबीले मास्क अनिवार्य गरेपछि सीमावर्ती बजारमा यसको कालोबजारी पनि हुन थालेको छ ।
११ फागुन २०७६, आइतवार ०२:३९ बजे प्रकाशित