उच्च अदालत महेन्द्रनगरमा ६२ प्रतिशत मुद्धा फर्छ्यौट

महेन्द्रनगर : उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले ६२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा चार सय नौ वटा मुद्दा आएकोमा दुई सय ५५ वटा मुद्दा फर्छ्यौट गरेको हो ।

उच्च अदालत महेन्द्रनगर इजलास अन्तर्गतका अन्य चार वटा जिल्ला अदालतको प्रगति समेत सन्तोषजनक रहेको उच्च अदालतले जनाएको छ । कञ्चनपुर जिल्ला अदालतले छ सय ७६ वटा मुद्दामा २ सय ८१ मुद्दा फर्छ्यौट गरेको छ ।

त्यस्तै डडेलधुरा जिल्ला अदालतले ९० मुद्दामा ३८ मुद्दा फर्छ्यौट गरेको छ । बैतडी जिल्ला अदालतले एक सय १८ मुद्दामा ६० मुद्दा फर्छ्यौट गरेको छ भने दार्चुला जिल्ला अदालतले एक सय ४३ मुद्दामा ९० मुद्दा फछुयौट गरेको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जनाएको छ ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायधीस शरन्दा सुवेदीले अदालतको काम सन्तोषजनक रहेको बताए । उनले फौजदारी मुद्दा बाहेक अन्य देवानी मुद्दामा मेलमिलापमा समेत पठाउने गरेको बताए ।

अदालतले ४३ वटा मुद्दा मेलमिलापमा पठाएको बताउँदै उनले ९ वटा मुद्दा फर्छ्यौट भइसकेको र ९ वटामा मेलमिलापको लागि प्रक्रियामा रहेको र २५ वटा मुद्दामा मेलमिलाप नभएको बताए ।

आर्थिक अवस्था कमजोर भएका तथा मुद्दामा वकिल राख्न नसक्ने सेवाग्राहीका लागि सरकारले निःशुल्क सेवा लिन सक्ने न्यायधीस सुवेदीले बताए ।

जसका लागि अदालतले कानुन व्यवसायी पुनम चन्दलाई नियुक्त गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ जना सेवाग्राहीले निःशुल्क कानुन व्यवसायी पाएका थिए ।


३ फागुन २०७६, शनिवार ०२:१३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु