श्रीमान्कै अघि सामूहिक बलात्कार गर्ने १२ वर्षमा पक्राउ

सप्तरी : श्रीमान्कै अगाडि सामूहिक बलात्कार गरेर फरार एक अभियुक्त १२ वर्षपछि बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका–११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले बताए ।

उनका अनुसार अर्का बलात्कारी सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ ।
२०६४ असोज २९ गते राति सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए । दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँसमेत लुटेर लगेका थिए ।

न्यायका लागि पीडितले घटनाको अर्को दिन २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सगरमाथा अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो । बलात्कार पुष्टि भएपछि दम्पतीले सप्तरी जिल्ला अदालतमा बकपत्र गरे ।

सप्तरी जिल्ला अदालतले हरिनारायणलाई जबरजस्ती करणी र चोरी मुद्दामा ०६५ चैत ११ गते एक वर्ष ६ महिना कैद सुनायो । उनी आफू घटना भएका बेला भारत पञ्जाबमा मजदुरी गरिरहेकाले घटनामा संलग्न नभएको दाबी गर्दै ०६७ असार १७ गते अदालतमा हाजिर भए । खटरको समेत बयानपछि अदालतले २०६७ फागुन १२ गते दुवैजनालाई सफाइ दियो ।

हरिनारायणलाई कम सजाय र खटरलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पीडितले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निवेदन दिए । अदालतले ०७१ मंसिर २९ गते हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला सुनायो ।

उक्त फैसलाविरुद्ध ०७३ चैत २५ गते दुवै जनाले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै सफाइको माग गरे । गत जेठ १ गते सर्वोच्चका तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले पीडितका पक्षमा निर्णय सुनाएपछि अभियुक्त फरार थिए । सर्वोच्चले सबै प्रमाणका आधारमा पुनरावेदनको फैसला सदर गर्यो । त्यसपछि दुवै जना फरार थिए ।


१ फागुन २०७६, बिहीवार १०:४३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु