मन्त्री बाँस्कोटाले भने, ‘महिला सशक्तीकरणका लागि गाउँ केन्द्रित कार्यक्रम गर्नुस्’
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालको संविधानले महिलाको सहभागिता सम्बन्धमा महत्वपूर्ण व्यवस्था गरेको भन्दै गाउँ केन्द्रित कार्यक्रम गर्न सुझाव दिएका छन् ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘महिला सशक्तीकरण सम्बन्धमा सूचनाको हकसम्बन्धी कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले महिला सशक्तीकरणका कार्यक्रमहरु अब काठमाडौँमा मात्र नभई दूरदराजमा पनि आयोजना गर्नुपर्ने बताए ।
सूचनाको हकसम्बन्धी कुरा गर्दा हरेक नागरिकले आफ्नो कर्तव्यबारे पनि ख्याल गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले महिलाका लागि सूचनाको हक महत्वपूर्ण हुने बताइन् ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हकले लोकतन्त्रमा विचार अभिव्यक्तिमा महत्वपूर्ण कार्य गर्ने धारणा व्यक्त गरे ।
आयोगका प्रमुख सूचना महेन्द्रमान गुरुङ्गले आयोगका आगामी कार्यलाई प्रभावकारी बनाउन रणनैतिक रुपमा अगाडि बढ्न खोजिएकोले सबैसँग सहकार्य गर्दै आयोग अघि बढेमात्र सुशासन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए ।
कार्यपत्र प्रस्तुत गर्दै आयोगका आयुक्त कमला ओलीले सूचनाको हक सम्बन्धी कानूनी व्यवस्थाका बारेमा व्याख्या गर्दै सूचनाको हकले महिला सशक्तीकरणमा पु¥याउने योगदानका बारेमा जानकारी दिइन् ।
निजामती किताबखानाका महानिर्देशिक गीता कुमारी होमेगाईले महिला सहभागिता बारेमा प्रस्तुतीकरण राख्दै सूचनाको हकका बारेमा महत्वपूर्ण जानकारी दिइन् ।आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको अधिकारबारे केही अन्तर्राष्ट्रिय घटना र आयोगले आगामी दिनमा गर्न खोजेका कार्यक्रमका बारेमा जानकारी दिए ।
२९ माघ २०७६, बुधवार ११:३६ बजे प्रकाशित