मेयर कप फुटबल प्रतियोगिता : आयोजक पुर्नवास र गोदावरी विजयी
पुनर्वास : कञ्चनपुरको पुनर्वासमा शनिवारदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि प्रतियोगिताका खेलहरु सुरु भएका छन् ।
पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ मा आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र गोदावरी नगरपालिका विजयी भएका छन् ।
पहिलो खेलमा आयोजक पुर्नवास नगरपालिका निलोले कृष्णपुर नगरपालिकालाई २–१ ले हरायो । पुर्नवास निलोका लागि पहिलो हाफको ५ औं मिनेटमा पहिलो गोल गरे ।
पहिलो हाफको ३२ औं मिनेटमा कृष्णपुरका मनोज चौधरीले गोल फर्काउँदै खेल बराबरीमा पुर्याए । दोस्रो हाफको २ औं मिनेटमा पुर्नवासका लागि रुपेश तामाङले गोल गर्दै आयोजक टीमले अग्रता कायम गर्यो ।
त्यसपछि गोल हुन नसकेपछि पुर्नवास २–१ ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो खेलमा गोदावरी नगरपालिकाले बोराडाँडी गाउँपालिकालाई ४–१ ले हरायो । पहिलो हाफको ५ मिनेटमै गोदावरीका अशोक चौधरीले गोल गरेर आफ्नो टीमलाई अग्रता दिए ।
पहिलो हाफको २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टीमको अग्रता २–० बनाए । दोस्रो हाफको ६ मिनेटमा अशोकले गोल गर्दै ह्याट्रिक पूरा गरे ।
वेल्डाडी गाउँपालिकका लागि दोस्रो हाफको १३ औं मिनेटमा विवेक रोकायाले गोल फर्काए । दोस्रो हाफको १९ औं मिनेटमा गोदावरीका लागि नरेन्द्र चौधरीले गोल गर्दै आफ्नो टीमलाई ४–१ को सानदार जित दर्ता गराए ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र कैलारी गाउँपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र लालझाडी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र बर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए ।
त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
२६ माघ २०७६, आइतवार १४:२५ बजे प्रकाशित