Alok

निर्मला हत्या प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ ।

शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक ९हाल निलम्बित० एकीन्द्र खड्का खटिएका थिए । निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत उनीसहित सात प्रहरी निलम्बितमा परेका थिए । गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरिदिएको थियो ।

‘निर्मला प्रकरण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेको छ । शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हालेका थिए । उनपछि सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो । यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ ।

प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै उक्त घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा गरिएको छ । उनी पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताए । ‘उहाँ उपचारका लागि बिदा जानुभएको हो’, प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेर अुनसन्धानमा सक्रिय भएका छन् । उक्त प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ । विसं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ । पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए ।


१७ माघ २०७६, शुक्रवार ०३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु