प्रधानमन्त्री बालेनले लिए कुलमानबाट सुझाव
प्रधानमन्त्री बालेन शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबाट बाढीपछिको खोजी तथा उद्धार कार्यबारे सुझाव लिएका छन्। आज बिहीबार घिसिङलाई सिंहदरबारमै बोलाएर प्रधानमन्त्री बालेनले बाढीपछिको अवस्थाबारे सुझाव लिएका हुन्।
यसमा सरकारलाई लिखित र मौखिक दुवै तवरबाट सुझाव दिइएको घिसिङले बैठकपछि पत्रकारहरूसँग बताए। उनका अनुसार प्रधानमन्त्री बालेनले विशेषगरी सुरुङभित्र थुनिएका व्यक्तिहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा चासो राखेका थिए । त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं,’ घिसिङले भने।
घिसिङले उद्धारका लागि विशेष किसिमको उपकरण नहुने पनि बताए। स्पेसल प्रविधि भन्ने त केही हुँदैन। तर गर्ने हो भने साधारण कामबाट गरिने हो। इक्विपमेन्टहरू लैजानुपर्ने, रेस्क्यु गर्ने टिम हुनुपर्यो,’ उनले भने, ‘मुख्य समस्या भनेको इक्विपमेन्ट पुर्याउन गाह्रो हो, उनले भने। उनले जेसीबी, एक्स्काभेटर र ड्रिलिङ मेसिनजस्ता उपकरण तत्काल घटनास्थलमा पुर्याएर डेब्रिज हटाउनुपर्ने बताए। सुरुङभित्र उद्धारका लागि छुट्टै वा असाधारण प्रविधि आवश्यक नपर्ने उनको भनाइ छ। ‘जेसिबी, एक्स्काभेटर, ड्रिलिङ मेसिन समयमै पुर्याउन पर्यो। त्यहाँको डेब्रिज निकाल्न पर्यो। त्यही हो। स्पेशल प्रविधि चाहिने पनि होइन त्यो भित्र,’ घिसिङले भने।
बाढीका कारण उद्धार तथा राहतका लागि आवश्यक सामग्री र जनशक्ति परिचालनमा केही ढिलाइ भएको उनले बताए। यद्यपि उपलब्ध नेपाली हेलिकप्टरलाई सक्दो परिचालन गरिएको र आवश्यक परे विदेशबाट समेत हेलिकप्टर तथा अन्य साधन ल्याएर काम अघि बढाउनुपर्ने विषयमा प्रधानमन्त्री शाह सकारात्मक रहेको उनले बताए। ‘बाढीका कारण परिचालनमा ढिलाइ भयो। तर परिचालनको विषयमा नेपालको हेलिकप्टरले भ्याएसम्म हामीले गरिरहेका छौं,’ घिसिङले भने, ‘विदेशबाट ल्याउनुपर्ने भयो भने पनि गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं भन्नुभयो।’
प्रधानमन्त्री शाहले आफूले सक्ने जुनसुकै काम गर्नुपरे पनि, जुनसुकै अवस्थामा आवश्यक साधनस्रोत परिचालन गरेर उद्धार र राहतको काम अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिए। त्यो विषयमा दृढ भएर लाग्छु भन्नुभएको छ,’ उनले भने।
घिसिङले विपद्पछिको उद्धार र राहतलाई प्रभावकारी बनाउन सडक सञ्जाल पुनःस्थापनालाई तत्काल प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन्। विशेषगरी स्याफ्रुबेसीसम्म सडक जोड्नुपर्ने र त्यसका लागि आवश्यक ठाउँमा बेलिब्रिज निर्माणको काम तत्काल अघि बढाउनुपर्ने सुझाव आफूहरूले दिएको उनले बताए। ‘सडकका सञ्जाललाई प्राथमिकता दिएर छिटोभन्दा छिटो रोड जोड्नुपर्छ। स्याफ्रुबेसीसम्म रोड जोड्नुपर्छ भनेर सुझाव दिएका छौं,’ उनले भने।
घिसिङले सडक कनेक्टिभिटीका लागि कहाँ–कहाँ बेलिब्रिज निर्माण गर्न सकिन्छ र स्याफ्रुबेसीसम्म सडक कसरी जोड्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको बताए। सडक सञ्चालनमा आएपछि राहत सामग्री पुर्याउन तथा उद्धार कार्यलाई समेत सहज हुने उनको भनाइ छ। ‘यसले राहत वितरण र उद्धारमा पनि सहयोग गर्छ,’ उनले भने।
राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा सरकार तथा विभिन्न निकायहरू सक्रिय रहेको पनि उनले बताए। विपद्को सुरुवाती चरणमा हेलिकप्टर नै उद्धार तथा राहतको मुख्य माध्यम बनेको र त्यसलाई अझ प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। सुरु–सुरुमा हेलीबाहेक विकल्प नै थिएन। रेस्क्यू गर्न पनि हेलिकप्टर नै चाहियो। राहत वितरणमा पनि हेलिकप्टर नै चाहियो,’ घिसिङले भने, ‘त्यो भएको हुनाले हेलिकप्टर सर्भिस नै मुख्य कुरा हो। त्यसलाई कसरी प्रभावकारी ढंगले परिचालन गर्ने भन्ने महत्त्वपूर्ण विषय हो।’
तर हेलिकप्टर परिचालन भएको मात्र पर्याप्त नहुने भन्दै त्यसबाट अपेक्षित परिणाम आएको छ कि छैन भन्ने विषय पनि महत्वपूर्ण रहेको घिसिङले बताए। ‘रिजल्ट दियो कि दिएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो,’ उनले भने। विपद् प्रभावित क्षेत्रमा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै आक्रोश बढिरहेको विषयमा पनि आफूहरूले प्रधानमन्त्रीसँग कुरा राखेको घिसिङले बताए।
‘शव व्यवस्थापन ढिलाइ भयो भन्ने आक्रोश छ। फिल्डमै जाँदा त्यो पाइयो। हामीले त्यो कुरा पनि राखेका छौं,’ उनले भने। अबको चरणमा सडक कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने र त्यसमा कुनै ढिलाइ गर्न नहुने घिसिङको सुझाव छ। सडक खुलेपछि उद्धार, राहत तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका कामलाई तीव्रता दिन सकिने उनको भनाइ छ।
यस्तै, विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू बसिरहेकाले उनीहरूको सामाजिक तथा स्वास्थ्य सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए। होल्डिङ सेन्टरमा बस्ने मानिसहरू धेरै छन्। सामाजिक रूपले र स्वास्थ्यका हिसाबले सबै व्यवस्थित कसरी बनाउने भन्ने कुरा मुख्य रूपले उठेको छ,’ घिसिङले भने, ‘त्यसलाई व्यवस्थापन गर्न सरकार गम्भीर छ भन्नुभएको छ।’
प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित बालबालिकालाई काठमाडौं ल्याएर राख्ने विषयमा समेत कुरा गरेको घिसिङले बताए। उनले आफूहरूको टोली पनि विपद्पछिको उद्धार तथा राहतका काममा समर्पित भएर लागिरहेको जानकारी दिए। घिसिङले विपद् सामना गर्न नेपालमा आवश्यक पूर्वतयारी पर्याप्त नभएको स्वीकार गरे। तर यसपटकको विपद् असाधारण रूपमा ठूलो भएकाले त्यसका कारण पनि व्यवस्थापनमा कमजोरी देखिएको उनको भनाइ छ।
‘हामी जुन किसिमको पूर्वतयारी हुनुपर्ने हो, त्यो पूर्वतयारी भएन। फेरि डिजास्टर ठूलो किसिमको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि कमजोरी भएकै छ। त्यसलाई सुधारेर सबैले एकताबद्ध भएर त्यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा हामी पनि लाग्नुपर्छ।’
प्रधानमन्त्रीसँग राजनीतिक विषयमा पनि राम्रो कुराकानी भएको घिसिङले बताए। तर भेटको मुख्य उद्देश्य भने विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र तत्काल गर्नुपर्ने कामबारे सुझाव दिनु रहेको उनले स्पष्ट पारे।
१८ भदौ २०८३, बिहीवार १४:३१ बजे प्रकाशित














