punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाबाट ९० टन हिमाली जडीबुटी निकासी

Chaupati
safha napa

दार्चुला। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठुलो परिमाणमा हिमाली जडीबुटी बाहिरी जिल्ला निकासी भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा यहाँबाट ९० हजार १२० किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगन्ज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी गरिएको हो ।

यहाँका व्यापारीले हिमाली बहुमूल्य जडीबुटीका रूपमा परिचित यार्चागुम्बा र वनलसुन बाहिरी मुलुकमा समेत निर्यात गर्ने गरेका छन् । जिल्लाको उच्च हिमाली क्षेत्रमा पाइने डेढ दर्जनभन्दा धेरै किसिमका जडीबुटी जिल्लाबाहिर तथा देशबाहिर निकासी हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले जानकारी दिए ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी निकासी हुने गरेको उहाँले बताउनुभयो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत १०/१२ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेका छन् भने बहुमूल्य जडीबुटी यार्चागुम्बा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको उनले बताए ।

यहाँबाट गत आवमा ४४४.०६ किलोग्राम यार्चागुम्बा दुई हजार ५३६.२६ किलोग्राम वनलसुन, २३५ किलोग्राम टिमुर, २० क्विन्टल पाषाणभेद, चार क्विन्टल सुगन्धवाल, २० क्विन्टल अमला, ९६ क्विन्टल अल्लो, १९७ क्विन्टल तेजपात, ३२५ क्विन्टल रिट्ठा, २० किलोग्राम सेतक चिनी र १७७ किलोग्राम चुत्रो निकासी भएको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीले जानकारी दिए ।

हिमाली जडीबुटी पाइने हिसाबले अपि नाम्पा संरक्षण क्षेत्र डिभिजन वनको भन्दा ठुलो छ । संरक्षण क्षेत्रभित्र विभिन्न ७० किसिमका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुँदै आएको छ । जडीबुटी निकासीबाट गत आवमा १३ करोड ९२ लाख २४ हजार ५५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

दार्चुलामा करोडौँ मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटीको संरक्षणतर्फ भने सरोकारवालाको खासै ध्यान नगएको जडीबुटी व्यवसायी गणेशदत्त बडूले बताए । प्रत्येक वर्ष सबै किसिमका जडीबुटी सङ्कलनका लागि वन खुला गर्दा हिमाली जडीबुटी लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । अत्यधिक तथा अव्यवस्थित सङ्कलनले हिमाली क्षेत्रमा पाइने बहुमूल्य वनस्पति तथा जैविक विविधतामा असर पर्न सक्ने हुँदा व्यवस्थित ढङ्गबाट जडीबुटी सङ्कलन गर्नुपर्नेमा उनले जोड दिए ।


१५ साउन २०८३, शुक्रवार १०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु