देउवाका पुर्खाबाट पाप, मोक्ष प्राप्तिका लागि डडेल्धुरामा महारुद्र यज्ञ आयोजना गरिदै
धनगढी। सनातन धर्मको संरक्षण, पितृमोक्ष तथा समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले डडेल्धुरामा सप्ताहव्यापी महारुद्र महायज्ञ आयोजना गरिने भएको छ । देउवा सेवा समाजको आयोजनामा नेपाल र भारतमा छरिएर बसोबास गर्दै आएका देउवा परिवारका सदस्यहरु मिलेर डडेल्धुराको गन्यापधुरा ५ गनेडाकोटमा महायज्ञ चैत १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने समाजका अध्यक्ष गजैसिह देउवाले जानकारी दिएका छन् ।
आयोजकका अनुसार परम्परागत विश्वास अनुसार देउवा वंशका पुर्खाबाट विगतमा पाप तथा अनिष्ट कर्म भएको उल्लेख पाइने भएकाले ती पापकर्मको प्रायश्चित गर्दै पितृहरूको मोक्ष र उद्धारका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । देउवा बंसजका जेष्ठ व्यक्ती रामबहादुर देउवा कर्ता रहने गरी वंशजहरूका लागि पुण्य सञ्चय तथा धार्मिक उन्नतिका लागि पनि यो अनुष्ठान महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
महायज्ञमार्फत जानेर वा नजानेर गरिएका पाप तथा दुष्कर्मबाट मुक्ति दिलाउने, आत्मशुद्धि गर्ने तथा धर्म, संस्कार र नैतिक मूल्यप्रति जागरण ल्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । यसले समाजमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमअन्तर्गत दैनिक रूपमा पूजाआजा, वेदपाठ, शिवपुराण कथा वाचन तथा भजन–कीर्तन सञ्चालन गरिनेछ । उद्घाटन दिन कलश यात्रा निकालिनेछ भने अन्तिम दिन पूर्णाहुति तथा प्रसाद वितरणसहित कार्यक्रम समापन गरिनेछ । आयोजकले महायज्ञ सफल बनाउन सबै श्रद्धालु, धर्मप्रेमी तथा स्थानीयवासीलाई सहभागिताका लागि आह्वान गरेका छन् । साथै, कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोगका लागि बैंक खाता तथा क्यूआरमार्फत दान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
महायज्ञको उद्घाटन चैत १२ गते कलश यात्रासहित गरिनेछ भने चैत १३ गतेदेखि नियमित रूपमा बिहानदेखि साँझसम्म धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । चैत १९ गते पूर्णाहुति कार्यक्रम सम्पन्न गरिनेछ । महायज्ञमार्फत धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागी भई पुण्य लाभ लिनका लागि सम्पूर्ण भक्तजनलाई अध्यक्ष देउवाले आग्रह गरेका छन् ।
५ चैत २०८२, बिहीवार ११:३१ बजे प्रकाशित













