कैलालीमा ६६ लाखकाे अवैध सामान बरामद
कैलाली।जिल्ला प्रहरी कार्यालय कैलालीले फागुन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
फागुनमा सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा र जनचेतनामूलक गतिविधिहरूलाई समेटेर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले प्रेस विज्ञप्ति मार्फत कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
जस्मा कैलाली प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ रु। ६३ लाख ९६ हजार १५ रुपैँया बराबरको सामान बरामद गरी ४ जनालाई पक्राउ गरिएको जनाएको छ ।
यस्ता छन् मुख्य कार्यहरू
१. अपराध दर्ता तथा अनुसन्धानको अवस्था
फागुन महिनामा कैलालीमा कुल १४७ वटा अपराध दर्ता भएका छन् । जसमा संगठित तथा आर्थिक अपराधका ६४ वटा, आत्महत्याका २४ वटा र ज्यान सम्बन्धी २२ वटा घटना रहेका छन् । यस अवधिमा प्रहरीले चालू मुद्दाका १२३ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
अदालतको फैसला कार्यान्वयनतर्फ १५ जनालाई पक्राउ गरी १० महिना कैद र रु. ७३,९८८ जरिवाना असुल गरिएको छ । यस्तै, लागूऔषध विरुद्धको कारबाहीमा ३३ वटा मुद्दा दर्तागरी ४८ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूबाट २ केजी ६० ग्राम चरेश र ६३ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
२. शान्ति सुरक्षा र उद्धार कार्य
जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीले ४,२९८ पटक विभिन्न प्रकारका गस्ती (पिकेट, चेकिङ, ग्रामीण गस्ती आदि) परिचालन गरेको छ ।
• कर्णाली र मोहना नदीमा हाम फालेका दुई पुरुषको सफल उद्धार गरी अस्पताल पठाइएको ।
• २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरी परिचालन गरिएको ।
३. ट्राफिक व्यवस्थापन र राजश्व संकलन
सवारी दुर्घटना र राजश्व संकलनका सम्बन्धमा निम्न विवरण रहेको छ:
• कुल ५५ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु र ७९ जना घाइते भएका छन् ।
• सवारी नियम उल्लंघन गर्ने १,१४६ वटा सवारी साधनलाई कारबाही गरी रु. १०,१६,००० राजश्व संकलन गरिएको छ ।
• अवैध भन्सार छली नियन्त्रणतर्फ रु. ६३,९६,०१५ बराबरको सामान बरामद गरी ४ जनालाई पक्राउ गरिएको छ ।
४. जनचेतना र सामुदायिक कार्यक्रम
प्रहरीले अपराध न्यूनीकरणका लागि ११४ वटा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । जसमा लागूऔषध रोकथाम (२८ वटा), आत्महत्या न्यूनीकरण (१२ वटा) र ट्राफिक नियम (१० वटा) सम्बन्धी कार्यक्रमहरू प्रमुख छन् । समुदाय र विद्यालय केन्द्रित कार्यक्रमहरूमा ३,८२९ जना सहभागी भएका थिए ।
५. अन्य विविध पक्ष
• घरेलु हिंसा: ३४ वटा उजुरी परेकोमा २९ वटामा मिलापत्र गरिएको छ ।
• हराएका व्यक्ति: ५० जना हराएकोमा ४३ जना फेला परेका छन् ।
• प्रहरी मनोबल: उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई ‘Best Police of the Month’ घोषणा गरी पुरस्कृत गरिएको छ ।
• सेवाग्राही: यस महिनामा कुल ३,१४७ जना सेवाग्राहीले सेवा लिएका छन् ।
प्रहरीले फागुन महिनामा नागरिकका ९,८७७ वटा फोन कलहरूको सम्बोधन गर्दै जिल्लाको सुरक्षा अवस्थालाई चुस्त राखेको जानकारी दिएको छ ।
३ चैत २०८२, मंगलवार ११:५६ बजे प्रकाशित













