कैलालीमा अन्त्येष्टि गरेको चार दिनपछि खाल्डोबाट शव उत्खनन्, हत्या आरोपमा सहोदर भाइसहित दुई जना पक्राउ
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा एक जनाको अन्त्येष्टि गरेको चार दिनपछी प्रहरीले खाल्डोबाट शव उत्खनन् गरेको छ। स्थानीय ३५ बर्षीय गणेश गिरीको अन्त्येष्टि गरेको चार दिनमा प्रहरीले शव उत्खनन् गरेको हो ।
गिरीको हत्या गरी अन्त्येष्टि गरिएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले शव उत्खनन् गरेर पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
सिंहका अनुसार गिरीको हत्या अभियोगमा उनका सहोदर भाई ३३ वर्षीय पदम गिरी र भान्जा नाता पर्ने १८ वर्षीय प्रदीप बोहरालाई पक्राउ गरिएको छ । २८ असारमा प्रदीपको कुटपिटबाट घाइते भएका गणेशको ३० असारमा मृत्यु भएको थियो ।
सिंहका अनुसार मृतकका परिवारले परम्पराअनुसार शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।`मृतकका परिवारले शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका रहेछन्, उनले भने, ´हत्या भएको सूचना पाएपछि शव उत्खनन् गरेर पोस्टमार्टम गरेका छौँ।, ३० गते नै अन्त्येष्टि गरिएको शव बिहिबार उत्खनन् गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा एअरफोन चोरीको आरोपमा बोहराले गणेशमाथि कुटपिट गरेको खुलेको छ। उनका भाइ पदमलाई भने घटनाको मतियारका रुपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए। बोहराले आफुले कुटपिट गरेको स्विकारेको प्रहरीले दावी गरेको छ।
२ साउन २०८२, शुक्रवार २२:०३ बजे प्रकाशित













