टिङ्कर सडकमा न्यून बजेट दिएको भन्दै ज्ञापनपत्र

धनगढी। महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१, तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले विरोध प्रदर्शन गरेको छ । कांग्रेसका नेताहरूले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएर प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेस जिल्ला सभापति ललितसिंह बोहोराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका नेता, कार्यकर्ताले विरोधस्वरूप कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ, चुच्चे नक्सा करायो, टिङ्कर सडकमा यथेष्ट बजेट व्यवस्था गर, दार्चुला जिल्लालाई पिछडिएको जिल्ला घोषणा गरलगायतका जस्ता नारा लगाउनु भएको थियो ।

देशकै गौरव र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको आधारका रूपमा रहेको दार्चुला–टिङ्कर सडक निर्माणमा सरकारले देखाएको उदासीनता र दार्चुलेली जनताको भावनामाथि खेलबाड गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै विरोध गरेको तथा ज्ञापन बुझाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

राष्ट्रकै गौरवका रूपमा रहेको सडक निर्माणलाई प्राथमिकतामा राख्नुको साटो आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले नयाँ बजेटमा अहिलेसम्मकै न्यून छ करोड ३१ लाख रुपियाँ मात्रै विनियोजन गरेकोमा कांग्रेस दार्चुलाले आपत्ति जनाएको छ ।

“सरकार दार्चुला–टिङ्कर सडक निर्माणमा संवेदनशील नभएको दार्चुलावासी जनता र नेपाली कांग्रेस दार्चुलाले स्पष्ट रूपमा बुझेका छौँ, नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता सङ्घीय, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जिम्मेवार राजनीतिक दल सरकारमा भएको बेला दार्चुलाप्रति अन्याय र विभेद पूर्ण निर्णय हुनुले जनतामा निराशा र असन्तुष्टि तीव्र बनेको छ, ज्ञापनमा भनिएको छ ।”

महाकाली कोरिडोर अन्तर्गतको तुसारपानी–टिङ्कर सडकखण्डमा नेपाली सेनाले पेस गरेको वार्षिक कार्ययोजना अनुसारको ५० करोड रुपियाँ विनियोजन गर्ने निर्णय सरकारले यथाशीघ्र गर्नुपर्ने कांग्रेसले जोडदार माग गरेको छ ।

नेपालबाट बाटो नहुँदा आफ्नै घर जान ब्याँसी सौका समुदायका मानिस भारतको अनुमति लिएर भारतको बाटो प्रयोग गर्न बाध्य छन् । जिल्ला सदरमुकाम खलङ्गादेखि टिङ्करसम्म सडक निर्माण गर्न सरकारले २०६७ सालदेखि दार्चुला–टिङ्कर सडक आयोजनामार्फत सडक निर्माण सुरु गरेको थियो । सरकारले २०७४ सालदेखि यो सडकलाई महाकाली कोरिडोरमा गाभेको थियो ।

दार्चुला–टिङ्कर सडकखण्डको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बजेट अभावकै कारण नेपाली सेनाले आठ वर्षमा १३ किलोमिटर मात्रै सडकको नयाँ ट्र्याक खोलेको छ । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने व्यास गाउँपालिका भारत र चीनसँग सिमाना जोडिएको त्रीदेशीय ट्रान्जिट प्वाइन्टका रूपमा रहेको छ ।

यो क्षेत्र सामरिक, व्यापारिक, पर्यटकीय हिसाबले अति महìवपूर्ण छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्गका रूपमा दार्चुला–टिङ्कर सडक पर्दछ ।


२३ जेठ २०८२, शुक्रवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु