भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको झलनाथको दाबी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक्न माग गरेका छन्। भारतीय पक्षले करिब ४० रोपनी नेपालको भूमिलाई एकलौटी ढंगले कब्जा तटबन्ध बनाइरहेको उनको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूमि नेपालकै नाप नक्सामा रहेको छ। त्यसैले दार्चुलाको खलङ्गास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै, तथ्यका आधारमा दाबी गर्दागर्दै, स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भूभागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ।’
नेपालको उक्त अभिन्न भू-भागमाथि स्थानीय जनता र प्रशासनको समेत बेवास्ता गरेर भारतीय पक्षबाट त्यहाँ ठाडै सीमा अतिक्रमण गरिरहेको अवस्था रहेको उल्लेख गरे।
यस घटनाका बारेमा स्थानीय प्रशासनले संघीय सरकारलाई सुसूचित समेत गरिसकेको भएपनि अहिलेसम्म सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।
विज्ञप्तिमा भनिएको छ, ‘यो आफ्नै देशको भूभाग र सिमाना प्रति सरकारको घोर लापरबाही हो। त्यसैले गर्दा उक्त सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ र त्यहाँका जनता आफै प्रतिरोधमा उत्रने अवस्था आउन थालेको छ। यस्तो अवस्थामा सरकारले तुरुन्त केन्द्रीय नाप जाँच टोली उक्त सीमा क्षेत्रमा पठाओस्। हाम्रो सिमानालाई वैज्ञानिक रूपले प्रष्ट पारोस्। भारतीय पक्षसँग आवश्यक कूटनीतिक वार्ता गरोस्।’
त्यहाँ भइरहेको तटबन्ध निर्माणको कार्यलाई अविलम्ब रोक लगाएर स्थानीय जनता, प्रशासन र जनप्रतिनिधि समेतलाई पूर्ण रूपले संलग्न र सुसूचित गरी नेपाली भूभागको रक्षा गर्न आग्रह गरेका छन्।
१० वैशाख २०८२, बुधवार १२:१३ बजे प्रकाशित













